काठमाडौँ – भारतको अहिले तीन देशसंग विवाद चर्किएको छ। नेपाल, चीन र पाकिस्तानसंग सीमालाई लिएर भारतको विवाद चर्किंदै गएको छ। चीनसंगको सीमा विवाद झडप सम्म पुगेको छ। चीनसंगको विवादले भारतका २० सैनिकको ज्यान पनि गएको छ।
भारतको तीन देशसंग विवाद चलिरहेका बेला भारतीय संचार माध्यमहरुले चीनसँग यु-द्धको अनुभव नभएको र उसले नेपाल र पाकिस्तान आफ्नो साथमा रहेको बताउँदै धम्की दिएको बताएका छन्।
“गलवान घाटीमा भारतीय सेना माथि आक्रमण गर्नु भारतलाई महँगो पर्यो। चीनका ४० भन्दा बढीले ज्यान गुमाए। चीनलाई हरेक तरिकाले जवाफ दिने भारतको तयारी देखेर अहिले चीन नेपाल र पाकिस्तानी सेनाको धम्की दिन थालेको छ।”,एक भारतीय संचार माध्यमले लेखेको छ।
चीनले जति नै सेना देखाएपनि उसको तयारी कम्जोर रहेको भारतीय संचार माध्यमहरु दावी गर्छन्। लद्दाख जस्तो उच्च पहाडी क्षेत्रमा लड्ने शक्ति चीनसँग नरहेको उनीहरुको दावी छ।
सियाचीन जस्तो उच्च हिमाली क्षेत्रमा समेत रहेर लड्न सक्ने ५० हजार भारतीय सैनिक रहेको हुँदा चीन हार्ने न्युज २४ अनलाइनको हिन्दी संस्करणले दावी गरेको छ। उसका अनुसार चीनले नेपाल र पाकिस्तानका सैनिकको धम्की समेत दिएको उसले समाचारमा उल्लेख गरेको छ।
ग्लोबल टाइम्समा प्रकाशित मुखपत्रलाई लिएर न्युज २४ अनलाइनको हिन्दी संस्करणले चीनले नेपाल र पाकिस्तानको साथ आफूलाई रहेको बताउँदै धम्की दिएको दावी गरेको छ।
ग्लोबल टाइम्समा के छ ?
ग्लोबल टाइम्सले सम्पादकीयमा चीनले अमेरिकाको इसारामा आफूविरुद्ध लागे भारतलाई जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । वासिङ्टनले भारतलाई चीन विरुद्ध प्रयोग गरेको आरोप लगाएको छ। भारतसंग विवाद उत्पन्न भएको क्षेत्रमा चीनले आवश्यक सैन्य शक्ति पुर्यासकेको र आवश्यक परे आक्रमणको लागि तयार रहेको उल्लेख गरिएको छ। साथै ग्लोबल टाइम्सले भारतको नेपाल र पाकिस्तानसँग समेत सीमा विवाद चलिरहेको स्मरण गराएको छ।
“भारतको अहिले चीन, पाकिस्तान र नेपालसँग सीमा विवाद छ। पाकिस्तान चीनको एक विश्वसनीय रणनीतिक साझेदार हो भने नेपालसँग पनि चीनको घनिष्ठ सम्बन्ध छ। दुवै देश चीन-प्रस्तावित बेल्ट एण्ड रोडका महत्वपूर्ण साझेदार हुन्। भारत पछि नहटेको खण्डमा उसले नेपाल, पाकिस्तान र चीन तीनै तिरबाट सैन्य दबाव खेप्नुपर्ने हुन्छ। जुन भारतको लागि सजिलो हुने छैन।”,ग्लोबल टाइम्सले लेखेको छ।