गोर्खा भर्ती खारेज गर्न विप्लवको माग: भने – ‘नेपालीहरु भारतको भाडावाल लडाकु नबनौं’

काठमाडौँ – प्रतिबन्धित नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले गार्खा भर्ती खारेजीको माग गरेका छन् । पार्टी महासचिव विप्लवले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै अंग्रेज साम्राज्यवादकालीन गोर्खा भर्तीकेन्द्र खारेजीको माग गरेका हुन्।

नेपाली युवाहरुलाई आफ्नो जन्मभूमिमा श्रम गर्न र भारतीय सेनामा भर्ती भएर भाडावाल लडाकू नबन्न विप्लवको आग्रह छ। पैसा र चाकडीका लागि युवाहरूलाई अर्काको देशमा लड्न पठाउने चलन २१ औँ शताब्दीमा पनि कायम राख्नु देशका लागि अपाच्य, अस्वीकार्य एवम् लज्जास्पद विषय भएको उनको भनाई छ।

“गोर्खा रेजिमेन्ट अङ्ग्रेज साम्राज्यवादकालीन एवम्‌ नेपाली सामन्ती राणाकालीन सम्झौताको निरन्तरता हो । पैसा र चाकडीका लागि युवाहरूलाई अर्काको देशका लागि लडन पठाउने चलन २१ औँ शताब्दीमा कायम राख्नु देशका लागि अपाच्य, अस्वीकार्य एवम्‌ लज्जास्पद विषय हो । यही कारणले नेपाली जनताले लामो समयदेखि गोर्खा भर्ती खारेजीको माग गर्दै आएका छन्‌ ।”,विज्ञप्ति जारी गर्दै विप्लवले भनेका छन्।

यस्तै उनले गोर्खा रेजिमेन्टलाई चीन विरुद्ध प्रयोग नगर्न समेत भारतलाई आग्रह गरेका छन्। भारतले आफ्नो सेना (गोर्खा रेजिमेन्ट) मा कार्यरत नेपाली युवाहरूलाई बिदा कटाएर फिर्ता बोलाएको प्रति उनको आपत्ति छ। एक देशका नागरिकलाई अर्को देश विरुद्ध प्रयोग गरिनु असंलग्न राष्ट्रहरूले अबलम्बन गरेको सिद्धान्तका विरुद्ध हुन जाने विप्लवको तर्क छ।

“हाम्रो पार्टी युवाहरूलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न एवम्‌ देशका लागि लज्जाजनक रहेको गोर्खा भर्तीलाई यथाशीघ्र खारेज गर्न राज्यसँग माग गर्दछ । भारतलाई गोर्खा रेजिमेन्टलाई चीनसँगको यु-द्धमा प्रयोग नगर्न आग्रह गर्दछ । त्यसैगरी नेपाली युवाहरूलाई आफ्नो जन्मभूमिमा श्रम गर्न र भारतीय सेनामा भर्ती भएर भाडावाल ल-डाकु नबन्न विशेष अपिल गर्दछ ।”,विप्लवले आग्रह गरेका छन्।

प्रकाशित : शनिबार, असार ०६, २०७७०७:४१

कोरोना जोखिम बढेपछि अत्तरिया बजार बन्द