काठमाडौँ उपत्यकामा थप ८ जनामा कोरोनाको पुष्टि !

काठमाडौँ – शनिबार काठमाडौँ उपत्यकामा ८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा गरिएको परीक्षणबाट ८ जनामा कोरोनाको पुष्टि भएको हो। कोरोना पुष्टि हुने सबै जना महिला रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंङका क्रममा प्रवक्ता डाक्टर जागेश्वर गौतमले भक्तपुरमा ७ महिला र काठमाडौँमा १ महिलामा कोरोनाको पुष्टि भएको जानकारी दिए।

गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणबाट काठमाडौँकी १ महिलामा कोरोनाको पुष्टि भएको हो। यस्तै भक्तपुरका ७ महिलामा शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको परीक्षणबाट कोरोनाको पुष्टि भएको उनले जानकारी दिए।

शनिबार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट ३ सय ३१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। शनिबार पुष्टि भएकाहरुमा ४९ महिला र २८२ पुरुष रहेका छन्। शनिबारको नयाँ पुष्टिसँगै नेपालमा संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ। जस मध्ये ७ सय ५६ महिला छन् भने ७ हजार ८ सय ४९ पुरुष छन्।

यस्तै बितेको २४ घण्टामा नेपालका १ सय ७६ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन्। शनिबार डिस्चार्ज हुनेहरुमा १८ जना महिला र १ सय ५८ जना पुरुष रहेका छन्। यससँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या १ हजार ५ सय ७८ पुगेको छ। अहिले सम्म १ हजार ४ सय ३७ जना पुरुष र १ सय ४१ जना महिला कोरोना जितेर फर्किसकेका छन्।

हाल सम्म नेपालमा १ लाख ५९ हजार १ सय ६५ पिसिआर परीक्षण र २ लाख ५२ हजार ३ सय आरडीटि परीक्षण भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार बितेको २४ घण्टामा ७ हजार ४ सय १६ पिसिआर परीक्षण र ४ हजार ४ सय २६ आरडीटि परीक्षण भएको छ।

क्वारेन्टाइनमा १ लाख २ हजार २ सय ४५ र आइसोलेसनमा ७ हजार ५ जना रहेको पनि उनले जानकारी दिए।

प्रकाशित : शनिबार, असार ०६, २०७७१०:५५

हिउँ छिचोल्दै हिल्सा पुगेर बिओपी स्थापना !