हालान्डको दुई गोलमा डर्टमुन्डको जित !

एजेन्सी – युवा सनसनी एर्लिङ ब्राउट हालान्डको दुई गोल सहयोगमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा आरबी लाइप्जिगलाई पराजित गरेको छ । डर्टमुन्डले घरेलु टोलीमाथि २–० को सहज जित हात पारेको हो ।

रेडबुल एरिना लाइप्जिगमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको ३०औं मिनेटमा हालान्डको गोलबाट डर्टमुन्डले १–० को अग्रता बनायो । हालान्डले जियोभानी रेनाको पासमा गोल गरेका थिए । त्यसअघि डर्टमुन्डले गोलका केही सुन्दर मौक खेर फालेका थिए । राफयल गुरेरो, थोर्गन हाजार्ड र हालान्डले गोलको अवसर खेर फालेका थिए । ४०औं मिनेटमा टिमो वर्नरको प्रहार रोमन बुर्कीले बचाउदा लाइप्जिग खेल बराबरी गर्नबाच चुक्यो ।

दोस्रो हाफको सुरुमै हालान्डले सुन्दर मौका खेर फाले । ५२औं मिनेटमा राफयल गुरेरोको पासमा हालान्डको प्रहार क्रसबारमा लागेर फर्कदा डर्टमुन्ड अग्रता दोब्बर बनाउनबाट चुक्यो । ७०औं मिनेटमा प्याट्रिकको प्रहारलाई डर्टमन्डका रक्षकले ब्लक गर्दै सम्भावित बराबरी टारे । ८०औं मिनेटमा लाइप्जिगका क्रिस्टियन एन्कुकुको प्रहारले पोस्टको दिशा लिन सकेन ।

८९औं मिनेटमा टेलर एडम्सले मौकालाई सदुपयोग गर्न सकेन । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा हालान्डले अर्काे गोल थप्दै डर्टमुन्डलाई २–० को सहज जित दिलाए । हालान्डले यसपटक जुलियन ब्रान्डको पासमा गोल गरेका थिए ।

जितसँगै डर्टमुन्ड ३३ खेलबाट ६९ अंक जोड्दै दोस्रो स्थान पक्का गरेको छ । पराजित लाइप्जिग ६३ अंक जोडेर तेस्रो स्थानमा यथावत छ । डर्टमुन्डमाथि जित निकाल्न सकेको भए लाइप्जिगले अर्काे सिजनको लागि च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्ने थियो ।

हारले पनि लाइप्जिगको शीर्ष चारमा पर्ने सम्भावना जीवितै छ । अब लिगको अन्तिम खेलमा अग्सबर्गलाई पराजित गर्न सके लाइप्जिग शीर्ष चारमा रहेर अर्काे सिजनको लागि च्याम्पियन्स लिगलाई छनोट हुनेछ ।

प्रकाशित : आइतबार, असार ०७, २०७७०२:३८

बार्सिलोनालाई पछि पार्दै रियल म्याड्रिड शीर्षस्थानमा !