भारतमा बितेको २४ घण्टामा अहिले सम्मकै बढी संक्रमित फेला, संक्रमितको संख्या ४ लाख नाघ्यो !

काठमाडौँ – भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख नाघेको छ। एकै दिन १५ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित फेला परेसँगै भारतमा कोरोना संक्रमितको संख्या ४ लाख नाघेको हो।

आइतबार बिहान सम्म भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख ११ हजार ७ सय २७ पुगेको छ। जस मध्ये १५ हजार ९ सय १५ जना संक्रमित बितेको २४ घण्टामा फेला परेका हुन्। यो संख्या हाल सम्मकै उच्च हो। यति ठूलो संख्यामा एकै दिन भारतमा कोरोना भाइरस संक्रमित फेला परेका थिएनन्।

यस्तै भारतमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ हजार २ सय ७७ पुगेको छ। जस मध्ये ३ सय ७ जना बितेको २४ घण्टामा बितेका हुन्।

भारतमा सक्रिय संक्रमित भन्दा बढी निको हुने कोरोना संक्रमित बढी छन्। हाल सम्म २ लाख २८ हजार १ सय ८१ जना संक्रमित निको भएर घर फर्किसकेका छन्। जबकी सक्रिय संक्रमित १ लाख ७० हजार २ सय ६९ छन्।

बितेको २४ घण्टामा विश्वभर १ लाख ५६ हजार ९ सय २३ नयाँ संक्रमित थपिएका छन् भने ४ हजार ४ सय २८ जनाको ज्यान गएको छ। यो समाचार तयार पार्दा सम्म विश्वभर कोरोना संक्रमितको संख्या ८९ लाख ८ हजार ५ सय ५६ पुगेको छ भने ज्यान गुमाउनेको संख्या ४ लाख ६६ हजार २ सय ६६ पुगेको छ।

प्रकाशित : आइतबार, असार ०७, २०७७०३:५१

“प्रतिरोधी क्षमता बढाउन आग्रह गरेको हुँ, मजाक नउडाइयोस्”