काठमाडौँ – प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकतासम्बन्धी विधेयक बहुमतले पारित भएको छ।
आइतबार बसेको समितिको बैठकले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था सहितको नागरिकतासम्बन्धी विधेयक बहुमतले पारित गरेको हो।
नागरिकतासम्बन्धी विधेयक माथि सत्तारुढ नेकपाका सांसदहरुले समर्थन गरे। तर, जनता समाजवादी पार्टी तथा नेपाली कांग्रेसका सांसदहरुले भने फरक मत राखे।
यस अगाडी शनिबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रस्तावित नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था राख्ने गरी विधेयक अघि बढाउने निर्णय गरेको थियो।
उक्त विधेयकको विषयमा लामो समयदेखि प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा लामो समय देखि छलफल भइरहेको थियो। मधेश केन्द्रित दल र कांगेसले फरक मत राखेपछि विधेयक अगाडी बढ्न सकेको थिएन।
सहमतिबाट विधेयक अगाडी बढ्न नसकेपछि मतदान मार्फत विधेयकको टुंगो लगाइएको हो।