काठमाडौँ – जनता समाजवादी पार्टीका वरिष्ट नेता राजेन्द्र महतोले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने कुरा संविधानको मर्म विपरित हुन जाने बताएका छन्।
आइतबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था राख्न लागिएको प्रति टिप्पणी गर्दै महतोले यस्तो बताएका हुन्।
बैठकमा आफ्नो धारण राख्दै वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था सहितको नागरिकतासम्बन्धी विधेयकको विरोध गरे। उनले सरकार उल्टो बाटोमा हिंडिरहेको बताए। संविधानले समय सीमा निर्धारण नगरेको हुँदा यस विधेयक बारे निर्णय गर्न हतार गर्न नहुने उनको भनाई थियो।
कानुन मात्रै बनाएर नहुने नहुने उनको तर्क छ। उनले कानुन जनताले पनि स्वीकार गर्नुपर्ने स्पष्ट पारे। तराई-मधेसमा अधिकांश व्यक्तिको विवाह भारतमा हुने उल्लेख गर्दै उनले सरकारले गर्न लागेको नयाँ व्यवस्थाले सामाजिक, सांस्कृतिक सम्बन्ध बिग्रिने दावी गरे।
तराई-मधेश र भारत बीचको सम्बन्ध दुवै देशका सरकारले नभई जनता आफैंले बनाएको उनले बताए। उनका अनुसार अंगीकृत नागरिकता सम्बन्धि नयाँ नियम पारित गर्नु भनेको महिलामाथिको स्वाभिमानमा आक्रमण गर्नु सरह हो।