भदौसम्म नेपालमा कोरोना संक्रमित ४० हजार पुग्ने !

काठमाडौं । नेपालमा आगामी २ भदौसम्म कोरोना भाइरस संक्रमितको संख्या ४० हजार पुग्ने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको अवस्थालाई सूक्ष्म अनुसन्धान गर्दै सो आँकलन गरेको हो । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

लकडाउन खुकुलो हुँदै जानु, सिमानाका जोडिएको देश भारतबाट आउने क्रम बढ्नु, संक्रमितको सम्पर्कमा आएकाको ट्रेसिङ सुस्त गतिमा हुनुलगायतका कारणले संक्रमणको जोखिम बढेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् । अहिले दैनिक झन्डै ३ हजार जनाभन्दा बढी व्यक्ति भारतबाट नेपाल प्रवेश गर्ने गरेका छन् ।

संक्रमितको संख्या बढ्दै गए ४० हजारमध्ये २ हजार जना गम्भीर प्रकृतिका हुन सक्ने आँकलन गरिएको छ । त्यसैलाई आधार मानेर स्वास्थ्य पूर्वाधारहरुको तयारीमा स्वास्थ्य मन्त्रालय जुटेको छ ।

हाल देशभर १ हजार भेन्टिलेटर, १ हजार ८ सय आईसीयू बेड स्थापना गरिएका छन् । स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीका अनुसार निजी अस्पताल, मेडिकल कलेजसँग बेड संख्या र लागत खर्चका बारेमा विवरण माग गरिएको छ । लागत खर्च सरकारले बेहोर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी छ ।

यस्तै, आगामी १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गर्ने गरी सरकारले योजना बनाएको छ । हाल दैनिक ६ हजार जनाको दैनिक पीसीआर परीक्षण गरिरहेको र निजी क्षेत्रबाट दैनिक ३ हजार जना बढीको परीक्षण गरिनेछ । विदेशबाट आएकाहरुको संख्या दिन प्रतिदिन बढेकाले स्वाबका नमुनाहरु होल्ड भएको हो ।

प्रकाशित : सोमबार, असार ०८, २०७७०१:५४

दसवटा सिग्नेचर पुल बन्ने: यी ठाउँमा बन्नेछन् !