जसपाका नेता भन्छन् – ‘अब भारतीयले हामीलाई छोरी दिँदैनन्, अब आन्दोलन गर्छौं’

काठमाडौँ – प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकतासम्बन्धी विधेयक बहुमतले पारित भएपछि जनता समाजवादी पार्टीका नेताहरूले आपत्ति जनाएका छन्।

जनता समाजवादी पार्टीले यस विषयलाई लिएर आन्दोलन गर्ने चेतवानी दिएको छ। मधेशवादी नेताहरुले सरकारले भारतसँगको सांस्कृतिक सम्बन्ध बिगार्न खोजेको आरोप लगाएका छन्।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले वाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था सहितको नागरिकतासम्बन्धी विधेयकलाई पेलेरै लान खोजे आन्दोलनमा उत्रिने जसपाको चेतावनी छ।

जसपाका वरिष्ट नेता राजेन्द्र महतो सरकारले गर्न लागेको नयाँ व्यवस्थाले सामाजिक, सांस्कृतिक सम्बन्ध बिग्रिने दावी गर्छन्। तराई-मधेश र भारत बीचको सम्बन्ध दुवै देशका सरकारले नभई जनता आफैंले बनाएको उनको दावी छ। उनका अनुसार अंगीकृत नागरिकता सम्बन्धि नयाँ नियम पारित गर्नु भनेको महिलामाथिको स्वाभिमानमा आक्रमण गर्नु सरह हो।

यस्तै जसपाका नेता लक्ष्मणलाल कर्णले नागरिकतासम्बन्धी ऐनमा कुनै परिवर्तन आवश्यक नरहेको बताउँछन्। सरकारले ल्याउन लागेको नयाँ कानुनले मधेशको संस्कृति, हिन्दु रीतिरिवाज र नेपाल-भारत सम्बन्धमाथि ठूलो प्रहार गर्ने उनको भनाई छ।

परापूर्वकाल देखि चलिआएको व्यवस्थालाई तोड्न खोजे ठीक नहुने उनको भनाई छ। सीमा क्षेत्रमा यस कानुनक कारण ठूलो समस्या निम्तिने बताउँछन्। अब भारतीयले नेपालीलाई छोरी नदिने प्रति पनि उनको चिन्ता छ।

सरकारले नागरिकतामा कडाई गरेसँगै भारतीयले नेपालीलाई छोरी नदिने र त्यसले सीमा क्षेत्रमा ठूलो समस्या पार्ने कर्ण बताउँछन्।

प्रकाशित : सोमबार, असार ०८, २०७७०२:१२

एउटाको गर्भ, अर्कोसँग विवाह !