काठमाडौँ – अनमी दिया सिंहले ४ क्वारेन्टाइन र १ आइसोलेसन तथा आशा थापाले ४ क्वारेन्टाइनका संक्रमित र शंकास्पदको उपचार र हेरचाह गरिरहेका छन् । यो समाचार आजको कान्तिपुरमा प्रकाशित छ।
काठमाडौँ — घरमा साढे तीन वर्षका छोरा छन् तर उनीसँग भेट्न नपाएको डेढ महिना हुन थाल्यो । बाजुराको बूढीगंगा नगरपालिका–१, धुराल्सैनस्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी दिया सिंह एक्लैको काँधमा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेका १७ जना, आरडीटी पोजिटिभ देखिएका २३ जना र चारवटा क्वारेन्टाइनमा रहेका अन्य ५३ जनाको उपचार गर्ने जिम्मेवारी छ ।
‘बच्चाको मायाले सताउँछ, तर के गर्नु कोरोना कहरले परिवार र बालबच्चाबाट टाढा गराएको छ,’ उनले भनिन् ।
केन्द्रमा संक्रमितको हेरचाह र उपचार गर्ने अर्को स्वास्थ्यकर्मी नभएकाले उनी घर जाने अवस्था छैन । ‘घरमा जाऊँ भने छरछिमेकीले पनि राम्रो मान्दैनन्,’ उनले दुखेसो पोखिन्, ‘त्यसमाथि केन्द्रको पूरा जिम्मेवारी काँधमा छ ।’ उनी उक्त केन्द्रमा एक वर्षदेखि अनमी पदमा करार सेवामा कार्यरत स्वास्थ्यकर्मी हुन् ।
वैशाखसम्म सामान्य अवस्थामै काम गर्नुपरे पनि जेठयता भने कामको चाप बढेको उनको भनाइ छ । ‘जेठ १० देखि स्थानीय बासिन्दा भारतबाट फर्किन सुरु भएपछि क्वारेन्टाइन भरिभराउ भएका हुन्,’ उनले थपिन्, ‘जेठ १४ मा दुई वर्षीया बालिका बिरामी परेपछि त थप तनावका दिन सुरु भए ।’
कोरोनाविरुद्धको लडाइँमा अग्रमोर्चामा खटिँदा सबैभन्दा अप्ठ्यारो जेठ १४ गते राति पर्यो । धुराल्सैनको क्वारेन्टाइनमा १ सय ८७ जनाको समूह थियो । त्यसमध्ये कुणी गाउँकी दुई वर्षीया बालिका सिकिस्त भइन् । ‘रातभर उपचारको अनेक प्रयत्न गरें,’ उनले भनिन्, ‘केही सीप नलागेपछि अर्को दिन बिहानै बच्चीका आमाबाबुसहितलाई सदरमुकाम मार्तडी पठाएँ ।’
मार्तडी पठाएको तेस्रो दिन ती बालिकाको उपचारक्रममा मृत्यु भयो । ‘उनको मृत्युको खबरले स्तब्ध भएँ । त्यसपछि उनकी आमामा पनि संक्रमण पुष्टि भयो । यो खबरले त झन् आत्तिएँ किनकि बच्चीको उपचार गर्ने क्रममा रातभर म सँगै थिएँ,’ उनले सुनाइन् । पछि पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट नेगेटिभ आयो ।
ती आमाछोरीलाई कोरोना संक्रमण भएपछि आफूलाई छरछिमेक र गाउँलेले हेर्ने दृष्टि बदलिएको उनले गुनासो गरिन् । ‘दुर्भावनाभन्दा पनि आफूहरूलाई कोरोना सार्छे कि भन्ने डरले होला गाउँले मेरो नजिक आउन र बोल्नै छाडे,’ उनले भनिन्, ‘त्यसपछि आफैंलाई पनि अप्ठ्यारो लाग्न थाल्यो ।’
उनलाई अहिले चारवटा क्वारेन्टाइन र एउटा आइसोलेसन केन्द्रको जिम्मेवारी छ । धुराल्सैन मावि, अम्कोट, कुणीकोट र कुणी प्राविमा गरी चारवटा क्वारेन्टाइन छन् । आइसोलेसन पनि धुराल्सैनमै छ । उनका अनुसार यी चारवटा क्वारेन्टाइन झन्डै एक घण्टाको पैदल दूरीमा छन् । ‘मेयर साप र जिल्लाका प्रमुखहरू बेलामौकामा आएर प्रोत्साहन गरिरहनुहुन्छ,’ उनले भनिन्, ‘त्यस बेला आफूले जोखिम मोलेर काम गरेकामा खुसी लाग्छ ।’ बूढीगंगाका नगरप्रमुख दीपकविक्रम शाहले दियाको खटाइको प्रशंसा गरे ।
आशा थापाको दैनिकी पनि दियाको भन्दा फरक छैन । बूढीगंगा नगरपालिकाअन्तर्गतकै आधारभूत स्वास्थ्य केन्द्र, ताप्रामा करार सेवामा कार्यरत अनमी हुन् उनी पनि । उनी एक्लैको काँधमा ताप्राकै वसन्त प्रावि, ताप्रिसेरा प्रावि, चैतेपीपल र बजेडी आधारभूत विद्यालयमा स्थापित चारवटा क्वारेन्टाइनमा रहेकाहरूको रेखदेख गर्ने जिम्मेवारी छ ।
ती क्वारेन्टाइनमा आइतबारसम्म एक जना संक्रमितसँगै १ सय २४ जना आरडीटी पोजिटिभ भेटिएका र अन्य ६० जना रहेको उनले जनाइन् । ‘१७ वर्षीया एक युवतीमा कोरोना पोजिटिभ देखिएको छ, उनको विशेष हेरचाह गर्ने गरेकी छु,’ आशाले भनिन् ।

