भद्रपुर – झापाको कनकाई नगरपालिकाका वडा नं १ देखि ७ सम्मका सम्पूर्ण क्षेत्रलाई बन्द गरिएको छ । क्वारेन्टाइनमा बसेकी एक महिलामा कोरोना पुष्टि भएपछि थप जोखिम हुन नदिन सो नगरपालिकाले आजदेखि यही असार १३ गतेसम्मका नगरक्षेत्रका सम्पूर्ण कार्यालय, व्यवसाय र बजार बन्द गरेको हो । नगरपालिकाको कोरोना भाइरस तथा नियन्त्रण समितिको आज बसेको बैठकको सो निर्णय गरेको हो ।
नगर क्षेत्रको क्वारेन्टाइनमा बसेकी एक महिलामा आइतबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको भेटघाट श्रीमान्सँग भएको र श्रीमान्को सम्पर्क समुदायस्तरसम्म रहेका कारण सङक्रमण फैलिन नदिन नगरपालिकाले उक्त कदम चालेको हो ।
नगरपालिकाले कोरोना संक्रमणको सम्भावित जोखिमबाट बच्न र बचाउन सम्पूर्ण नगरवासीलाई अत्यावश्यक काम बाहेक आफ्नै घरभित्र रहन र सामाजिक दुरी कायम गर्न सार्वजनिक सूचना जारी गरी आग्रह गरेको छ । सो अवधिमा स्वास्थ्य सेवाका ओपिडी बाहेकका सेवा खुल्ला रहने र अत्यावश्यक सेवा एवम् निर्माण कार्यमा प्रयोग हुने सवारी साधान सञ्चालन गर्न दिइने नगरपालिकाले जनाएको छ । त्यसैगरी आजै मेचीनगर नगरपालिका– ६ को होम क्वारेन्टाइनमा बसेका एक कोरोना संक्रमितसँग सम्पर्कमा रहेका २२ जना व्यक्तिको स्वाब संकलन गरी परीक्षणका लागि विराटनगरस्थित कोभिड–१९ को प्रयोगशाला पठाइएको छ
संक्रमितको घर सिल गरिएको मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीले जानकारी दिइन्। सङ्क्रमित महिला भारतको युपीबाट गत जेठ ३० गते काँकडभिट्टा आएकी थिइन् ।