काठमाडौँ – सोमबार ४ सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट ४ सय २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बितेको २४ घण्टामा ५ सय ३५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। २४ घण्टामा ७४ महिला र ४६१ पुरुषमा कोरोनाको पुष्टि भएको उनले बताए। यससँगै ८९४ महिला र ८६६७ पुरुष गरी नेपालमा संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ।
यस्तै बितेको २४ घण्टामा नेपालका ३ सय ७० जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन्। सोमबार डिस्चार्ज हुनेहरुमा ३२ जना महिला र ३ सय ३८ जना पुरुष रहेका छन्। यससँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या २ हजार १ सय ४२ पुगेको छ। अहिले सम्म १ हजार ९ सय ६१ जना पुरुष र १ सय ८१ जना महिला कोरोना जितेर फर्किसकेका छन्।
हाल सम्म नेपालमा १ लाख ८१ हजार ३ सय ७१ पिसिआर परीक्षण र २ लाख ६८ हजार १ सय ३ आरडीटि परीक्षण भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार बितेको २४ घण्टामा ६ हजार १ सय ९८ पिसिआर परीक्षण र ५ हजार ९ सय २९ आरडीटि परीक्षण भएको छ।
क्वारेन्टाइनमा ९० हजार ७ सय ३० र आइसोलेसनमा ७ हजार ७ सय ८९ जना रहेको पनि उनले जानकारी दिए।