प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना, बिरामीबाट सरेको हुन सक्ने अनुमान !

सुर्खेत – कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

अस्पताल प्रशासनका अनुसार क्वारेन्टिनमा बसेका ४२ जना स्वास्थ्यकर्मीको पिसिआर विधिबाट गरिएको परीक्षणबाट पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो ।

अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काका अनुसार आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको थियो ।

गत जेठ ३१ र ३२ गते आकस्मिक कक्षमा भर्ना भएका दैलेखका दुई र सुर्खेतका एक जना बिरामीमा कोरोना पोजेटिभ देखिएको थियो । ती बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी क्वारेन्टिनमा थिए । उनीहरुलाई हाल प्रदेश अस्पतालकै आइसोलेशन कक्षमा राखिएको छ ।

पोजेटिभ देखिएकामध्ये चार जना प्रयोगशाला तथा एक जना भने एक्स–रे कक्षमा कार्यरत हुन् । अस्पतालका निर्देशक खड्काले स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण भएपछि केही घण्टा सिल गरिएको आकस्मिक सेवा भने हाल सञ्चालन भइसकेको बताउनुभयो ।

कर्णालीमा एकैपटक यति धेरै सङ्ख्यामा स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको यो पहिलोपटक हो ।

प्रकाशित : सोमबार, असार ०८, २०७७१४:०८

कोरोना भएकी महिलाले स्तनपानमा गराउँदा बच्चालाई सर्छ की सर्दैन ? यस्तो छ विशेषज्ञको भनाई !