जसपा सांसदको चेतवानी – “भारतीय चेली ल्याउँदैमा राष्ट्रघाती भइन्छ भने आन्दोलनमा जान्छौं’

काठमाडौँ – वैवाहिक अंगिकृत नागरिकता सात वर्ष पछि मात्रै पाउने व्यवस्थाको विरोधमा जनता समाजवादी पार्टीले आन्दोलन गर्ने संकेत गरेको छ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय जनता पार्टी नेपालका एक सांसदले आन्दोलनको चेतवानी दिएका हुन्। सांसद महेन्द्र राय यादवले सहमतिकै आधारमा नागरिकता ऐन निर्माण र दुई तिहाईको बलमा ऐन निर्माण गर्न खोजिए आन्दोलनमा जाने संकेत गरे।

“सरकारले सहमतिको बाटो खोज्नुपर्छ। सरकारले सहमति नखोजेर के सडकदेखि सदनसम्म आन्दोलनमा जाऊ भन्न खोजेको हो?”,आन्दोलनमा जाने संकेत सहित उनले भने।

भारतीय चेली ल्याउँदा राष्ट्रघाती हुन् भन्ने कुरा गलत रहेको उनले तर्क गरे। मधेशीलाई शंकाको नजरले नहेर्न उनको आग्रह छ। समयमै नागरिकता समस्या समाधान गर्न सरकारसँग उनले आग्रह गरे।

“सरकारले समयमै नागरिकता समस्या समाधान गरोस्। भारतीय चेली ल्याउँदा राट्रघाती भन्ने गलत हो। हामी सबै राष्ट्रवादी हो। शंकाको दृष्टिले नहेरियोस्।”,उनले भने।

सांसद महेन्द्र राय यादवले सत्तारुढ नेकपाले नागरिकताका विषयमा विगतमा भएको सहमति उल्लङ्घन गरी गलत संस्कार स्थापित गर्न खोजेको आरोप लगाए । उनले २०६२÷६३ को दोस्रो जनान्दोलनपछि तत्कालीन प्रमुख राजनीतिक दलबीच नागरिकताका सम्बन्धमा भएको सहमतिअनुसार नै नागरिकताको प्रावधान कायम राख्न आग्रह गरे ।

उनले सरकारले तराई– मधेशका नागकिरलाई अन्याय गर्न खोजेको र वैवाहिक सम्बन्धलाई समेत खलल पार्न खोजेको आरोप लगाए ।

प्रकाशित : मङ्गलबार, असार ०९, २०७७०९:५८

संसदमा आज: शनिबार र आइतबार सार्वजनिक बिदा दिन सांसदको माग !