काठमाडौँ – सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टीले आन्दोलनको घोषणा गरेको छ।
नेपालीसँग विवाह गरी आउने बुहारीले ७ वर्ष पछि मात्रै नागरिकता पाउने व्यवस्था गर्न लागिएपछि जनमत पार्टीले मंगलबार विभिन्न आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो।
सरकारले लकडाउनको मौका छोपेर गैरजिम्मेवार, असंवेदनशील र षड्यन्तकारी प्रवृत्ति देखाउदै नागरिकता ऐन संशोधन विधेयक ल्याउन लागेको प्रति आन्दोलनका कार्यक्रमको घोषणा गरिएको जनमत पार्टीले जनाएको छ।

नागरिकता ऐन संशोधन विधेयक मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम, अल्पसंख्यक सहितका उत्पीडित वर्गका जनताहरूको चाहना विपरित रहेको पार्टीको ठहर छ।
“कोभिड-१९ को महामारीले बंदाबंदी रहेको मौका छोपेर गैरजिम्मेवार, असंवेदनशील र षड्यन्तकारी प्रवृत्ति देखाउदै राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको नागरिकता ऐन संशोधन विधेयक मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम, अल्पसंख्यक सहितका उत्पीडित वर्गका जनताहरूले पटक-पटक गरेको आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिहरू प्रति प्रतिगामी तथा जनचाहना विपरित रहेकोले जनमत पार्टीले जनताको हक -अधिकार स्थापित गर्नका लागि थप आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने निर्णय गरेको छ।”, एक विज्ञप्ति जारी गर्दै पार्टीले भनेको छ।

साथै मधेश आन्दोलनको जगमाथि स्थापित नागरिकता सम्बन्धी अधिकार खोस्न र मधेशी, आदिवासी, जनजाति,दलित, मुस्लिम, अल्पसंख्यक सहितका उत्पीडित वर्गलाई अनागरिक बनाउन विधेयक ल्याइएको पनि जनमत पार्टीले आरोप लगाएको छ।

