ढोकाअगाडि सुशासनको शपथ, टेबलमुनिबाट घुसको बकस

काठमाडौं । दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका सबै सरकारी कार्यालयका कर्मचारीलाई ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्न । म देश र जनताका लागि इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्दछु’ भन्ने शपथको प्रतिज्ञा गराए । तर, यो शपथ व्यवहारमा भने अझै लागु हुन सकेको देखिँदैन । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।

प्रधानमन्त्री कार्यालयदेखि सबै सरकारी कार्यालयको ढोकैमा देखिने गरी लेखिएको ‘म भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्न’ भन्ने नाराले अहिले तिनै सरकारी कार्यालयलाई गिजाइरहेको छ ।

पछिल्लो समय भ्रष्टाचार र घुसखोरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको तथ्यांकले घुस लिने र भ्रष्टाचार गर्ने प्रवृत्ति झनै बढेर गएको देखाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा ३ सय ५० वटा भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गरेको थियो । गत वर्ष १९ वर्षको इतिहासकै धेरै भ्रष्टाचार मुद्दा दर्ता गरेको अख्तियारको दाबी थियो । तर, अहिले यो आर्थिक वर्षको १० महिनाको अवधिमा ३ सय ७० वटा भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गरेको छ ।

गत आर्थिक वर्षमा घुस लेनदेनका १ सय ५० वटा मुद्दा दर्ता भएकामा यो आर्थिक वर्षको १० महिनाको अवधिमा १ सय ४२ वटा मुद्दा दर्ता भइसकेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

म भ्रष्टाचार गर्दिनँ भन्ने नारा कर्मचारीले शपथका रूपमा खाए पनि भ्रष्टाचारको संख्यामा भने विगतभन्दा झनै बढेको प्रवक्ता कोइरालाले बताए । ‘अख्तियारले अहिले सक्रियता धेरै बढाएको छ,’ उनले भने, ‘उजुरी दिनेको संख्या पनि विगतभन्दा धेरै रहेको छ ।’

त्यस्तै, अख्तियारले आर्थिक वर्ष २०७४-७५ मा १ सय ९४ मुद्दा चलाएको थियो । २०७३÷७४ मा १ सय ५४ वटा मुद्दा विशेष अदालतमा दर्ता भएका थिए । यो संख्या २०७२÷७३ मा १ सय ४४ थियो । त्यसअघि पनि अख्तियारले यो वर्षभन्दा बढी मुद्दा दर्ता गरेको देखिँदैन ।

गत आर्थिक वर्ष अख्तियारले दायर गरेका भ्रष्टाचार मुद्दामध्ये १ सय ४७ वटा रंगेहात घुससँग सम्बन्धित छन् । नक्कली प्रमाणपत्रका ८८, सार्वजनिक सम्पत्ति नोक्सानीका ३९, गैरकानुनी लाभहानिका ३३, राजस्व हिनामिनाका १०, गैरकानुनी सम्पत्तिका १२ अनि विविध विषयका २२ वटा मुद्दा दायर भएका छन् ।

पछिल्लो तीन महिनाको अवधिलाई हेर्दा पनि अख्तियारले यो लकडाउनको अवधिमा मात्रै ४७ वटा केसमा ९७ जनाविरुद्ध विशेष अदालतमा दर्ता गरेको छ । अकुत सम्पत्ति, घुस, नक्कली सर्टिफिकेट, आर्थिक अनियमिततालगायतको मुद्दा अख्तियारले विशेष अदालतमा दर्ता गराएको छ ।

आर्थिक अनियमिततासँग सम्बन्धित १० वटा मुद्दा ३९ जनाविरुद्ध मुद्दा चलाइएको छ । नक्कली सर्टिफिकेट प्रयोग गरेर सरकारी जागिर खाने ११ जना, अकुत सम्पतिसँग जोडिएका चारवटा मुद्दामा आठ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

त्यस्तै, घुस रकम लिएका १४ वटामा २४ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । घुस लिनेमा वन कार्यालयका प्रमुख, प्रहरी, स्थानीय निकायका वडा सदस्यसम्म छन् । अख्तियारले लकडाउनको अवधिमा १५ हजारदेखि ३ लाख रुपैयाँ घुस लिनेसम्मलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको पाइएको छ

प्रकाशित : बुधबार, असार १०, २०७७०१:१८

कोरोना संक्रमणको चौथो चरणमा नेपाल