काठमाडौँ – भारतमा तत्काल कोरोना भाइरस संक्रमण नियन्त्रणमा नआउने देखिएको छ। भारतमा अहिले विश्वकै तेस्रो बढी दैनिक संक्रमित भेटिरहेका छन्। कोरोनाबाट अतिसंक्रमित मुलुकको चौंथो मुलुकको रुपमा रहेपनि दैनिक संक्रमण र दैनिक मृत्युमा भने भारत तेस्रो स्थानमा रहेको छ।
पछिल्ला केहि दिन देखि रसियामा भन्दा दोब्बरको संख्यामा संक्रमित फेला परिरहेका छन्। यस हिसाबले रसियालाई भारतले संक्रमण संख्यामा आउने केहि हप्तामै उछिन्ने देखिएको छ।
बितेको २४ घण्टामा भारतमा १५ हजार ६ सय ६५ जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेका छन्। जससँगै त्यहाँ कोरोना भाइरस संक्रमितको संख्या ४ लाख ५६ हजार १ सय १५ पुगेको छ।
यस्तै बितेको २४ घण्टामा मृतकको संख्यामा पनि उच्च वृद्धि देखिएको छ। भारतमा बितेको २४ घण्टामा मात्रै ४ सय ६८ जनाको ज्यान गएको छ। यो संख्या अहिले सम्मकै दोस्रो बढी हो। भारतमा अहिले सम्म कोरोना भाइरस संक्रमणका कारण १४ हजार ४ सय ८३ जनाले ज्यान गुमाएका छन्।
कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या भने भारतमा सन्तोषजनक पाइएको छ। अहिले सम्म त्यहाँका २ लाख ५८ हजार ५ सय ७४ जना संक्रमित निको भएका छन्। भारतमा सक्रिय संक्रमित संख्या १ लाख ८३ हजार ८५ छ। जस मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर छ।

