सिपिएलमा सन्दीपको मूल्य १ करोड !

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को सन् २०२० सिजनका लागि खेलाडी ड्राफ्ट बुधबार हुने कार्यक्रम रहेको छ । कोभिड-१९ का कारण हुने भर्चुअल ड्राफ्टमा ५ सय ३७ खेलाडी सहभागी हुनेछन् ।

सिपिएल अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रीनिडाड एन्ड टोबेगोमा बन्द रंगशालामा गर्ने प्रस्ताव गरिएको छ । यद्यपि यसका लागि सरकारको स्वीकृति आउन भने बाँकी रहेको छ । ड्राफ्टअघि केहि टोलीले विदेशी खेलाडीलाई ड्राफ्टअघि नै अनुबन्ध गरिसकेका छन् । सिपिएलले पहिलो पटक ड्राफ्टअघि नै विदेशी खेलाडी अनुबन्ध गर्ने प्रावधान अगाडी सारेको हो ।

इएसपीएनक्रिकिन्फोका अनुसार अष्ट्रेलियाका क्रिस लिनलाई सेन्ट किट्स एण्ड नेभिस पेट्रीयट्सले अनुबन्ध गरेको छ । अफगानिस्तानका रशिद खान र काइस अहमदले क्रमश: बार्बाडोस ट्राइडेन्ट्स र गुयाना एमेजन वारियर्सबाट खेल्ने छन् । दक्षिण अफ्रिकी राइली रुसोले सेन्ट लुसिया जुक्सको जर्सीमा उत्रनेछन् ।

अन्य विदेशी खेलाडीमा न्युजिल्यान्डका विकेटकिपर ब्याट्सम्यान टिम सिफर्टले ट्रीनबेगो नाइट राइडर्सबाट खेल्नेछन् । दक्षिण अफ्रिकी स्पिनर तबरेज शाम्शीले जमैका तलाहवजबाट खेल्नेछन् भने अफ्रीकाकै एनरिक नोर्टजेले जुक्स र रासी भान डर डुसेनले प्याट्रीयट्सबाट खेल्नेछन् ।

ड्राफ्टबाट वारियर्स र नाइट राइडर्सले कम्तिमा ३ खेलाडी छनोट गर्नुपर्ने छ । तलाहवजले ११ खेलाडी, प्याट्रीयट्सले ६ खेलाडी तथा ट्राइडेन्ट्स र जुक्सले कम्तिमा ५ खेलाडी छनोट गर्नुपर्नेछ ।

ड्राफ्टमा पाकिस्तानी अलराउन्डर शहिद अफ्रिदी सर्वाधिक मूल्यमा तोकिएका छन् । उनको नाम अधिकतम रकम १ लाख ६० हजार डलर रहेको छ । इंग्ल्याण्डका कप्तान ओइन मोर्गनले १ लाख ३० हजार डलर रकम तोकेका छन् । न्युजिल्यान्डका टिम साउथी र अष्ट्रेलियाका बेन कटिङले १ लाख १० हजार डलर तोकेका छन् ।

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो नाम ९० हजार अमेरिकी डलरको (१ करोड ८ लाख नेपाली रुपैयाँ) सुचिमा राखेका छन् । उनीसँगै यस रकम सुचिमा दक्षिण अफ्रीकाका फाफ डु प्लेसिस र डेविड मिलर, अष्ट्रेलियाका डार्सी सर्ट तथा अफगानिस्तानका मोहमद नाबी र मुजिब उर रहमान रहेका छन् ।

वेस्ट इन्डिजका कार्लोस ब्रेथवेटले ७० हजार डलरमा आफ्नो नाम राखेका छन् । इंग्लिस ब्याट्सम्यान एलेक्स हेल्स, दक्षिण अफ्रीकाका कागीसो रबाडा र पाकिस्तानका साहिन अफ्रिदी ६० हजार डलरको सुचिमा नाम राखेका छन् ।

प्रकाशित : बुधबार, असार १०, २०७७११:१४

बार्सिलोनालाई पछि पार्दै रियल म्याड्रिड लिगको शीर्षस्थानमा उक्लियो !