काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले लिम्पियाधुरासम्मको भूमि समेटेर नक्सा जारी भइसकेपछि भारतसँग वार्ता हुने सम्भावना कम भएको बताएका छन्। नयाँ पत्रिकालाई दिएको अन्तर्वार्ताको क्रममा उनले नक्सा जारी गरेपछि भारतसँग तत्कालै वार्ता हुने सम्भावना आफूले नदेखेको बताएका हुन्।
नक्सा जारी गरेर नेपालले केहि पनि नपाएको उनको तर्क छ। नक्सा जारी गरेर मात्र नहुने भन्दै उनले त्यहाँ नेपालको भौतिक उपस्थिति हुनुपर्ने पनि बताए। त्यस क्षेत्रका जनताको राष्ट्रियता माथि नै प्रश्न रहेको उनले उल्लेख गरे। त्यहाँका मानिस भारतीय सेना, प्रशासनिक सेवा, प्रहरीमा ठूला पदमा बसेका हुँदा त्यहाँका जनतालाई नेपालको पक्षमा कसरी पर्ने कुरालाई लिएर पनि उनले प्रश्न गरे।
“म सोध्न चाहन्छु, मुलुकले के पायो ? कागजमा नक्सा कोर्यौँ, तर के पायौँ ? हामीले दाबी गरेका जमिनमा हाम्रो भौतिक उपस्थिति कहीँ पनि छैन । त्यहाँ रहेका जनतासँग हाम्रो के सम्पर्क छ ? तिनको राष्ट्रियता के हो ? त्यहाँका मानिस भारतीय सेना, प्रशासनिक सेवा, प्रहरीमा ठूला पदमा बसेका छन् । उनीहरूलाई हामीले के दिएका छौँ ? त्यहाँका जनता हाम्रो पक्षमा कसरी आउँछन् भन्ने प्रश्न छ ।”,अन्तर्वार्तामा उनले भनेका छन्।
यस्तै उनले नक्सा जारी गरेपछि प्रमाण खोज्न विज्ञको टोलि बनाएको प्रति पनि प्रश्न गरेका छन्। नक्सा जारी गर्नुभन्दा अगाडी नै प्रमाण खोजिएको भए राम्रो हुन्थ्यो भन्ने उनको बुझाई छ। सुगौली सन्धिका आधारमा भारतसँग उक्त क्षेत्र फिर्ता गर्न धेरै कठिन हुन जाने उनी बताउँछन्। सुगौली सन्धि पछि नेपालले विभिन्न क्षेत्र प्राप्त गरेको हुँदा त्यसपश्चात भएका विभिन्न सन्धिले पनि अड्को थाप्ने उनको संकेत छ।
“नेपालका सबै भूभाग सुगौली सन्धिअन्तर्गतका मात्र छैनन् । नयाँ मुलुक भनिएका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर सन् १८६० मा अंग्रेजले नेपाललाई दिएको हो । सन् १८५७ को लखनउको सिपाही वि-द्रोह दबाउन मद्दत गरेबापत नेपालले पाएको हो । यो जमिन सुगौली सन्धिको होइन । गण्डकीदेखि कोसीसम्मको मधेसको भूभाग पनि सुगौली सन्धिपछि नेपालतिर आएको हो । अंग्रेजले छाडिदिएको जमिन न नेपालको हो । सुगौली सन्धिको पार्ट मधेस पनि छैन, नयाँ मुलुक पनि छैन ।”,अन्तर्वार्तामा उनले भनेका छन्।