अमेरिकामा कोरोनाको दोस्रो लहर: अहिले सम्मकै दोस्रो बढी संक्रमित भेटिए !

एजेन्सी – अमेरिकामा फेरी कोरोना भाइरस संक्रमितको संख्यामा उच्च वृद्धि आएको छ। केहि दिन यता अमेरिकामा कोरोना संक्रमतिको संख्यामा उच्च वृद्धि देखिएको छ। यस वृद्धिसँगै कोरोना भाइरस संक्रमणको दोस्रो लहर आउने त्रास बढेको छ।

बितेको २४ घण्टामा मात्रै अमेरिकामा ३८ हजार ३ सय ८६ नयाँ कोरोना संक्रमित थपिएका छन्। यो संख्या अमेरिकामा अहिले सम्म एकै दिन भेटिएको दोस्रो ठूलो संख्या हो।

बिहिबार बिहान सम्म कोरोना भाइरस संक्रमितको संख्या २४ लाख ६२ हजार ५ सय ५४ पुगेको छ। जस मध्ये १० लाख ४० हजार ६ सय ५ निको भएर घर फर्किसकेका छन्।

यस्तै अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख २४ हजार २ सय ८१ पुगेको छ। जस मध्ये ८ सय ८ जनाको २४ घण्टामा ज्यान गएको हो।

विज्ञहरुले अमेरिकामा कोरोनाको दोस्रो लहर हुने चेतवानी दिरहेका बेला अमेरिकामा संक्रमणको दरमा उच्च वृद्धि भएको छ। संक्रमण दर बढेसँगै कतिपय राज्यले लकडाउन पुनः कडा गराउने तयारी थालेका छन्। कतिपय राज्यहरुले मानिसको आवतजावतमा समेत कडाइ गर्न थालेका छन्।

विश्वभर कोरोना

बिहिबार बिहान सम्म विश्वभर कोरोना संक्रमितको संख्या करोड नजिक पुगेको छ। यो समाचार तयार पार्दा सम्म विश्वभर कोरोना संक्रमितको संख्या ९८ लाख १९ हजार ४ सय ८२ पुगेको छ। बितेको २४ घण्टामा मात्रै विश्वभर १ लाख ७२ हजार ३ सय ८३ जना नयाँ संक्रमित थपिएका छन्।

यस्तै कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ८३ हजार ९ सय ५९ पुगेको छ। बितेको २४ घण्टामा मात्रै ५ हजार ७१ जनाको ज्यान गएको हो।

प्रकाशित : बिहिबार, असार ११, २०७७०४:०२

वाग्मती किनारको जग्गा तरकारी र मकै खेतीका नाममा कब्जा !