हेटौँडा – हेटौँडा कुलेखानी हुँदै काठमाडौँ जाने सडकको यातायात आवागमन बन्द गरिएको छ । वाग्मती प्रदेश, भौतिक योजना तथा निर्माण मन्त्रालयले आज एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म सो सडकखण्डमा बन्द भएको जनाएको छ ।
हाल सो सडक खण्डको भीमफेदीदेखि कुलेखानीसम्म विस्तार तथा स्तरोन्नतिका काम जारी रहेको छ । मन्त्रालयले त्रिभुवन राजपथ र नौबिस मुग्लिन राजमार्ग प्रयोग गर्न अनुरोध समेत गरेको छ ।
तटबन्धनले जोगायो बस्ती
नारायणी नदी किनारमा गरिएको तटबन्धनले रामघाटर शिवघाटलगायत तटीय क्षेत्रका बस्ती जोगाएको छ । तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत सो कार्य सम्पन्न भएका थिए ।सो स्थान तीन सयभन्दा बढी घर बाढीको जोखिममा रहेका बताइएको छ ।
भरतपुर महानगरपालिका–४ नारायणीधाम आश्रम नजीक गरिएको तटबन्धनले ठूलो क्षति हुनबाट जोगाएको वडाध्यक्ष हरि आचार्यले बताए । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको सो कार्यक्रमबाट रु २५ लाखको बजेट ५० लाखभन्दा बढीको काम भएको उनले बताए ।
“नारायणी गाउँतिर पस्छ कि भन्ने अवस्थामा हुँदा गरिएको तटबन्धनले गाउँ सुरक्षित भएको छ”, उनले भने, “नदी किनारका बासिन्दाको जमीन व्यवस्थापन राम्रो भएको छ ।” निःशुल्क रुपमा श्रमदान भएर काम हुँदा थोरै बजेटले पनि धेरै काम हुन सकेको उनको भनाइ छ । सो कार्यक्रमलाई यहाँ निरन्तरता दिनका लागि भरतपुर महानगरपालिकामार्फत विभिन्न योजना पेश गरेर पहल भइरहेको उनले बताए ।
नारायणीधाम आश्रम तटबन्धन उपभोक्ता समूहका अध्यक्ष तारानाथ पौडेलले तीन महिनामा श्रमदानसहित काम सम्पन्न गरिएको बताए । “यो तटबन्धनले आश्रमको सुरक्षादेखि यहाँका तीन सय परिवारलाई सुरक्षित बनाएको छ”, उनले भने, “नदी तटबन्धनका लागि दुई सय १९ जाली भरिएको छ, जसका कारण आश्रमको करीब चार कट्ठा जमीनसमेत उकासिएको छ ।” नदी तटबन्धनका लागि ५१ मिटर लम्बाइ ३१ मिटर चौडाइ तथा १० मिटर उचाइको तारजाली गरिएको उनले जानकारी दिए।

