उपचारका क्रममा मृत्यु भएकी महिलाको कोरोना पोजेटिभ

तुलसीपुर – दाङमा उपचारका क्रममा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज परीक्षण गर्दा रिपोर्र्ट पोजेटिभ आएको हो ।

प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवका अनुसार घोराही उपमहानगरपालिका –१५ गुम्राह चोकमा बुधबार भेटिएकी अन्दाजी ३५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको थियो ।

गम्भीर बिरामी अवस्थामा भेटिएकी उनको प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई जनप्रतिनिधि र प्रहरीको सक्रियतामा उद्धार गरी अस्पताल लगिएको थियो ।

कोभिड–१९ : पाँच सय ९३ नयाँ सङ्क्रमित थप

बितेका २४ घण्टामा विभिन्न जिल्लामा गरी ५९३ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४८६ पुरुष र १०७ महिला गरी कूल ५९३ मा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए।

काठमाडौँमा थप तीन जना पुरुषमा सङ्क्रमण पुष्टी भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या ११ हजार ७५५ पुगेको छ । तीमध्ये एक हजार २४९ महिला र १० हजार ५०४ पुरुष रहेका छन् । मोरङ, झापा, सुनसरी, धनुषा, महोत्तरी, सिरहा, अछाम, बैतडी, बझाङ, बाजुरा, बारा, दार्चुला, गोरखा, कैलाली, कञ्चनपुर, कपिलवस्तु, रौतहट, सल्यान, नवलपरासीपूर्व, काठमाडौँ, सिन्धुली, कास्की, लमजुङ, बागलुङ, तनहुँ, स्याङ्जा, अर्घाखाँची, गुल्मी, पाल्पा, रुपन्देही, दाङ, प्युठानलगायत जिल्लामा गरी ५९३ जनामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा गौतमले जानकारी दिए। अहिलेसम्म रसुवा बाहेक सबै जिल्लामा यो भाइरस फैलिसकेको छ ।

यस्तै बितेका २४ घण्टामा आठ महिला र ४० पुरुष गरी ४८ जना डिस्चार्ज भएका उनले  बताए । योसँगै कोरोना निको हुनेको सङ्ख्या दुई हजार ६९८ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ ।

प्रकाशित : शुक्रबार, असार १२, २०७७१२:१८

यातायात कार्यालयमा सेवाग्राहीको बढ्दो भीड, छैन सुरक्षा सतर्कता