“नेपाल भारत सीमा सशस्त्र प्रहरीलाई निरन्तरता दिइयोस्, तारबार लगाइयोस्”

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्यहरुले नेपाल-भारतको सीमामा तारबार लगाउनुपर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार बसेको स्थायी कमिटीको बैठकमा सदस्यहरुले नेपाल-भारतको सीमामा तारबार लगाउनुपर्ने बताएका हुन्।

स्थायी कमिटी सदस्यहरू देव गुरुङ, लीलामणि पोखरेल, पम्फा भुसाल, अमृत बोहोरालगायतले तारबार लगाएर सीमा सिल गर्नुपर्ने बताएका हुन्। कोरोनाका कारण सीमामा सशस्त्र प्रहरी परिचालन गरिएकोलाई निरन्तरता दिँदै तारबार लगाएर सीमा सिल गर्न सदस्यहरुको सुझाव छ।

अतिक्रमणलाई रोक्न अब सीमा सिल गर्नेतिर जानुको विकल्प नरहेको सदस्यहरुले बताए। कोरोनाको अवस्थालाई अवसर बनाइनुपर्ने तर्फ सदस्यहरुले जोड दिए।

बैठकमा परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले कूटनीतिक पहलद्वारा नै समस्याको समाधान गरिने उल्लेख गर्दै चीनद्वारा नेपाली भूमि अतिक्रमण भएको भन्ने झूठो, नियोजित र भ्रामक प्रचारमा कुनै सत्यता नभएको र चीनसँग सीमाका सम्बन्धमा कुनै समस्या नरहेको पनि स्पष्ट पारेका थिए।

भारतद्वारा अतिक्रमित नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुराको भूमि फिर्ता गर्न सरकारले पहल गरे पनि भारतले वार्ताको सकारात्मक तत्परता नदेखाइरहेको उनले जानकारी दिए।

बैठकमा आज १८ स्थायी कमिटीका सदस्यले आफ्नो धारणा राखेका थिए । सदस्यहरुले नेपालको सीमा समस्या र समाधानका बारेमा आ–आफ्नो धारणा राखेका थिए । आजको बैठकमा लीलामणि पोखरेल, मातृका यादव, देव गुरूङ, गोकर्ण विष्ट, शङ्कर पोखरेल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृतकुमार बोहरा, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, केशव बडाल, गणेश साह, मुकुन्द न्यौपाने र नारायणकाजी श्रेष्ठले विचार राखेको नेकपाका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पहिलो दिन वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्तव्य व्यक्त गरेका थिए ।

बैठकमा कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठनिक एकताका बाँकी काम सम्पन्न गर्ने, अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) र विविध कार्यसूची छ । कार्यसूचीको विविधमा रुकुमपश्चिममा गत जेठ १० मा भएको मानवताविरोधी घटना, नागरिकतासम्बन्धी विधेयक, सङ्घीय सांसदहरूको भत्ताका विषय राखिएको छ ।

प्रकाशित : शुक्रबार, असार १२, २०७७१३:३७

भारतलाई चिनियाँ सैनिकको चेतावनी – ‘क्याम्पहरू हटाउ, लिपुलेक छाडेर जाउ’