परामर्शबिना गर्भपतनको औषधि सेवन जीवन मरणको दोसाँधमा छटपटाउँदै !

बाजुरा। जिल्लाको बूढीगङ्गा नगरपालिका– ४ बानेगाँउ बस्ने एक महिला स्थानीय मेडिकलको औषधि सेवन गर्दा जोखिमा परेकी छन्। परामर्श नलिइकन निजी मेडिकलबाट गर्भपतनको औषधि खाएकाले उनको ज्यान जोखिममा परेको हो। हाल उनी अछामको बयलपाटा अस्पतालमा जीवन मरणको दोसाँधमा छटपटाइरहेकी छन्।

ती महिलाले गएको बुधबार स्थानीय मेडिकलबाट गर्भ तुहाउने औषधि लिएर घरमै खाएकी थिइन्। खाएको केही समयमै उनको अत्यधिक रक्तश्राव भएको थियो। अवस्था गम्भीर हुँदै गएपछि उनी टाँटे स्वास्थ्यचौकीमा उपचारका लागि पुगेकी थिइन्। त्यो समयसम्म उनलाई अत्यधिक रक्तश्राव भएका कारणले त्यहाँ उपचार सम्भव नभएपछि अछामको बयालपाटा अस्पताल लगिएको बूढीगङ्गा नगरपालिका स्वास्थ्य संयोजक दीपक शाहले बताए।

अहिले उनको अछामको बयलपाटा अस्पतालमा उपचार भइरहेको परिवारका सदस्यले बताएका छन्। उनलाई चार पिन्ट रगत दिइएको अस्पतालले जनाएको छ। औषधि सेवनपछि अत्यधिक रक्तश्राव भएका कारण उनमा अहिले रक्तअल्पता भएका कारण ज्यान निकै जोखिममा रहेको स्वास्थ्यकर्मीले बताएका छन्।

गर्भपतन वा सुत्केरी महिलामा हेमोग्लोबिनको मात्रा घटेमा ज्यान जोखिम हुने स्वास्थ्यकर्मीको भनाइ छ। उनले टाँटे स्वास्थ्यचौकीसँगै जोडिएको एक मेडिकलबाट किनेर खाएको बुझिएको छ। तर, त्यही टाँटे स्वास्थ्यचौकी सुरक्षित गर्भपतन सेवाका लागि सूचीकृत भएको छ। उनलाई त्यो जानकारी हुँदाहुँदै पनि मेडिकलबाटै औषधि किनेर खाएको एक स्वास्थ्यकर्मीले बताएका छन्।

प्रकाशित : शनिबार, असार १३, २०७७०१:२१

सुदूरपश्चिममा थप २२१ सङ्क्रमित