दैलेख, दैलेखको नौमुले गाउँपालिकाको वडा नं। १ मा रहेको भैरव माध्यमिक विद्यालयमा निर्माण गरेको आइसोलेसनबाट ६३ जना कोरोना सङ्क्रमित भागेका छन् । आइसोलेसन बसेका कोरोना ९२ जना सङ्क्रमितमध्ये ६३ जना रातारात भागेको स्थानीय प्रशासनले बताएको छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।
आइसोलेसन अस्पतालमा सङ्क्रमितहरूका लागि खाना पकाउने भान्सेहरूले आफूहरूलाई गाउँपालिकाले सेवा सुविधा नदिएको भन्दै खाना ढिलो पकाएर दिएपछि सङ्क्रमितहरू आइसोलेसन अस्पतालबाट भागेको इलाका प्रहरी कार्यालय नौमुलेले जानकारी दिएको छ ।
इलाका प्रहरी चौकी नौमुलेकै आडमा रहेको भैरव माध्यमिक विद्यालयमा रहेको आइसोलेसन अस्पतालबाट ६३ जना भाग्दासमेत प्रहरीले बिहान मात्र खबर पाएको थियो । नौमुले गाउँपालिका दैलेखका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र शाहीले आफू बजार आएको र बिहान मात्र भागेको भन्ने हल्ला सुनेको बताउनुभयो ।
उहाँले ९२ जना सङ्क्रमित रहेको आइसोलेसन अस्पतालबाट ६३ जना कोरोना सङ्क्रमित भागेको र अरू त्यही आइसोलेसन अस्पतालमै रहेको जानकारी दिनुभयो । भागेको ६३ जनामध्ये पाँच(सात जना बिहानै आइसोलेसन अस्पतालमै फिर्ता भएको र अन्यको खोजी कार्य भइरहेको जानकारी दिनुभयो । नौमुले इलाका प्रहरी चौकीले समेत त्यसको कमान्ड गर्न नसकेपछि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक नैनबहादुर साउदको नेतृत्वमा सुरक्षा टोली पठाएको छ ।

