एजेन्सी – उत्तर कोरियाली नेता किम जङ अन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सन् २०१९ को शुरुमा भियतनाममा भएको दोस्रो द्विपक्षीय वार्ता विना निष्कर्ष समाप्त भएसँगै दुबै देशबीचको सम्बन्ध सोचेजति सकारात्मक हुन सकेको छैन । दोस्रो वार्ता पश्चात केहि समय शान्त रहेको उत्तर अब अभ्ने चुप नबस्ने देखिएको छ।
केहि समय अगाडी उत्तर कोरियाले दक्षिण कोरियासँगैको सीमाक्षेत्रमा रहेको आफ्नो अन्तर–कोरियाली सम्पर्क कार्यालयको भवन ध्वस्त पारेको थिए। जसले उत्तर कोरिया दक्षिण कोरिया र अमेरिकासंग रुष्ट बन्दै गएको संकेत गरेको थियो।
अहिले आएर उत्तर कोरिया र अमेरिका बीच सम्बन्ध धेरै नै बिग्रिएको स्पष्ट संकेत मिलेको छ। उत्तर कोरिया सरकारको मुखपत्र मानिने एक संचार माध्यमले अमेरिकाविरुद्ध आणविक हतियार प्रयोग गर्नुको विकल्प नरहेको भनेर एक लेख प्रकाशित गरेको छ।
अमेरिकाको आणविक चुनौतीबाट उम्कनका लागि उत्तर कोरिया सरकारले सबै खाले प्रयास गरेपनि सम्पूर्ण आशा समाप्त भएका कारण अब हतियारलाई हतियारले चुनौती दिने बाहेक विकल्प नरहेको उक्त लेखमा उल्लेख गरिएको छ। वार्तामार्फत होस् वा अन्तर्राष्ट्रिय कानूनअनुसार सम्बन्ध सुधारको प्रयास गरिएपनि सफल नभएको हुँदा अब अन्तिम बिकल्प तर्फ सोच्नुपर्ने समय आइसकेको उक्त लेख मार्फत बताइएको छ।
उत्तर कोरियाले देखाइरहेको आक्रमकताका बीच प्रकाशित भएको उक्त लेखलाई महत्वका साथ हेरिएको छ। कोरियाली युद्धको सुरुवातको ७० औं वर्षगाँठ स्मरण गरेको एक दिनपछि यो लेख सरकारी सञ्चारमाध्यममार्फत सार्वजनिक हुनुले विश्वका छुट्टै तरंग र डर पैदा गरेको छ।
उक्त लेखमा विशेष गरेर ट्रम्प प्रशासनको आलोचना गरिएको छ। ट्रम्प प्रशासनले देखाएको दम्भमा कारण उत्तर कोरिया जुन सुकै हद सम्म अगाडी बढ्न सक्ने उक्त लेखको संकेत छ।