काठमाडौँ – शनिबार सलह किरा देखिएपछि प्रदेश ५ सरकारले सलह किरा समातेर ल्याउनेलाई नगद दिने घोषणा गरेको छ।
प्रदेशका विभिन्न स्थानमा सलह किरा देखिएपछि प्रदेश सरकारले सलह किरा समातेर ल्याउनेलाई एक किलो सलह किरा बराबर २० रुपैयाँ दिने घोषणा गरेको हो।
सलह किराले पुर्याउन सक्ने क्षति कम गर्न किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई प्रति किलोग्राम २० रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरिएको प्रदेशको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। सलह किराले पुर्याउन सक्ने क्षति कम गर्ने एक उपाय मध्ये किरा संकलन गर्ने पनि एक रहेको हुँदा नगद प्रोत्साहनको व्यवस्था गरिएको मन्त्रालयको भनाई छ।
यस्तै मन्त्रालयले धानको बीउलाई सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले ढाकेर राख्न पनि अनुरोध गरेको छ। अहिले खेत रोपाई गर्ने मौसम रहेको हुँदा सलहले धानको बीउ नष्ट गर्न सक्ने हुँदा यस्तो अनुरोध गरिएको मन्त्रालयको भनाई छ। ३ मिलिलिटर मालाथिनमा एक लिटर पानी र २ मिलिलिटर क्लोरपाइरिफोसमा एक लिटर पानी मिसाउन मिसाएर किसान आफैंले सलह निष्ट गर्न सक्ने पनि मन्त्रालयले जनाएको छ।
विज्ञहरुले सलह नेपाल प्रवेश गर्ने सम्भावना कम रहेको बताएता पनि नेपालका विभिन्न स्थानमा सलह देखा परेको छ। शनिबार बिहान रुपन्देहीमा देखिएका सलह पाल्पा र गुल्मीतर्फ लागेका छन्।
फट्याङ्ग्र वर्गको कीरामा पर्ने सलह अफ्रिकी मुलुकबाट अरेबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको थियो । नेपालमै पहिलोपटक शनिबार बिहान सलह कीरा देखिएको केन्द्रले जनाएको छ ।
सलह किराले बालीमा अमेरिकी फौजी कीराले भन्दा अनेकौ गुना बढी क्षति पुर्याउने जानकारले बताएका छन । विज्ञका अनुसार करोडौंको सङ्ख्यामा रहने सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ । जेठ देखि असोजसम्म बढी प्रकोप हुने सलह किरा एकै दिनमा १५० किलोमिटर भन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पुर्याउने विज्ञ बताएका छन् ।