सडकको बेहाल: गाडी गुडाउने सपना तर खच्चड हिँड्न मुस्किल

–हेमन्त केसी

जाजरकोट – भिरालो जमीन र बलौटे माटोका कारण जाजरकोटलगायत कर्णाली प्रदेशका अधिकांश जिल्लामा विकास निर्माणको काम छिनभरमै विनाश हुने गरेको छ ।

जथाभावी डोजर प्रयोग गरेर निर्माण गरिएका सडकहरु वर्षायामको झरीसँगै छिनभरमै बग्ने गरेका छन् । असार महिनामा मात्र बढी डोजरहरु प्रयोग गरी सडक तथा अन्य विकास निर्माणका काम हुँदा वर्षाको झरीसँगै अधिकांश सडक बग्ने गरेको छ ।

जाजरकोटको बारेकोट, शिवालय, जुनिचाँदे, कुशे गाउँपालिका, छेडागाड, भेरी र नलगाड नगरपालिकाभित्रका अधिकांश नयाँ सडकहरु वर्षाको झरीसँगै सडकहरु बगेका छन् । वातावरणीय प्रभाव मूल्याङ्कन बिना नै डोजर चालकले आफैँ इन्जिनीयर भएर गाउँपिच्छे लगिएका सडकहरुमा अहिले खच्चडसमेत चल्न मुस्किल भएको छ । गाउँगाउँमा सडक लिएर हिँड्ने दुःखबाट उन्मुक्ति पाउने आशा व्यक्त गरेका स्थानीयवासी सडकले नै खेतीयोग्य जमीन बगाउँदा हैरान भएका छन् ।

जथाभावी सडक लिएर धानबाली लगाएको खेत पुरिदिएपछि शिवालय गाउँपालिका–५ की पानसरी रेग्मीले पहिराले पुरिदिएको खेतमा गई निराश भएको बताए। उनले भने, “धेरै दुःख गरेर खेतमा धान रोपियो, तर अहिले सडकबाट आएको पहिरोले पुरिदिएपछि कसलाई के भन्यौँ र ।” उनका अनुसार गाउँगाउँमा खनिएका सडकले घरहरु समेत जोखिममा परेका छन् ।

गाउँको टाठाबाठाहरुले डोजर चालकलाई आफू अनुकूल बिनाप्राविधिक स्टिमेट सडक घुमाउन लगाउँदा समस्या भएको हो । गाडी गुड्ने सपनाका साथ खनिएका सडकहरुमा खच्चड नै चल्न नसक्ने अवस्था आएपछि गाउँगाउँका स्थानीयवासी हैरान भएका छन् । जुनिचाँदे गाउँपालिका–१ काप्रा, बेसीपाटा, पन्चाला हुँदै जुनिसडक खण्डको लोड्नेलगायत दर्जन ठाउँमा मापदण्ड विपरीत सडक निर्माण हुँदा गाडी चल्न सक्ने अवस्था नरहेको स्थानीयवासी रेशम खड्काले जानकारी दिए।

निर्माण व्यवसायीको चरम लापरवाही र सरोकारवाला निकायले चासो नदिँदा यो सडकखण्डमा यातायातका साधनहरु सञ्चालन गर्न मुस्किल भएको हो । यही ठाउँमा हप्ता दिनअघि जीप दुर्घटना हुँदा पाँचजना घाइते भएका थिए । त्यस्तै भेरी नगरपालिका–२ रिसाङबाट बाहुनथानासम्मको सडकमा दैनिक यातायातका साधनहरु सञ्चालन गर्न मुस्किल हुँदै आएको छ । नलगाड नगरपालिकाको नलगाड जलविद्युत् आयोजनाले निर्माण गरेको कालीमटी–सिर्के सडकखण्डमा पानी पर्ने बित्तिकै यातायातका साधनहरु चल्न सक्ने अवस्था नरहेको स्थानीयवासी नरेन्द्र ओलीले जानकारी दिए। जथाभावी ठाडो डाँडामा (काल्लो) सडक खन्दा यातायातका साधनहरु सञ्चालन गर्न मुस्किल भएको हो ।

त्यस्तै बारेकोट गाउँपालिकाले निर्माण गरेका आन्तरिक सडकहरुमा समेत यातायातका साधनहरु चल्न सक्ने अवस्था कमजोर रहेको छ । यहाँ निर्माण भएका सडकहरु डोजरबाट खनिएका कारण ठाउँठाउँमा पहिरो जाँदा यातायातका साधनहरु, (खच्चड) चल्न सक्ने अवस्था कमजोर भएको हो । छेडागाड नगरपालिकामा समेत आन्तरिक रुपमा निर्माण गरिएका सडकहरु दुई हप्तादेखि परेको अविरल वर्षाले सबै क्षतविच्छेद पारिसकेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट दिनमा निर्माण गरिएका सडकहरु बेलुकी परेको पानीले बगाउँदा, निर्माण गरिएका सडकहरु निर्माण नगरे झैँ भएको रोजगार संयोजकहरुले बताएका छन् । दैनिक खटिएर सडक निर्माण गरिएको छ तर झरीसँगै गएको पहिरो र भलले सबै बगाउँदा प्रतिफल दिन नसक्दो रहेछ शिवालय गाउँपालिकाका रोजगार संयोजक प्रकाश पौडेलले बताए।

बर्सेनि खडक खन्दै, पुर्दै

जाजरकोटलगायत कर्णाली प्रदेशका अधिकांश स्थानीय तहमा निर्माण भएका सडकहरु बर्सेनि निर्माण गर्दै र वर्षायाममा पुर्दै गर्दा करोडौँको आर्थिक नोक्सान हुँदै आएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन नगरी निर्माण गरिएका सडकमा हिउँदयाममा समेत मुस्किलले जीपहरु सञ्चालन हुने गरे पनि वर्षायाममा पूरै ठप्प हुने गरेका छन् । विभिन्न स्वार्थका कारण जथाभावी र माटो जाँचबिना नै खनिएको सडकले अधिकांश ठाउँमा विनाशसमेत ल्याएको छ । भारी जमीनमा पहिरो तथा भूक्षयसमेत गएको छ । जसले गर्दा धेरै खेतीयोग्य जमीन मासिएको पाइएको छ ।

प्रदेशबाट निर्माण गरिएका सडक तथा विकास निर्माणका अधिकांश ठाउँमा वातावरणीय प्रभाव मूल्याङ्कन नगरी पहुँचको भरमा योजना दिँदा लथालिङ भएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयले पठाएको योजनाभन्दा अर्कै योजना स्वीकृत भएर आउँदा काम गर्न गाह्रो भएको कार्यालयका कर्मचारीको भनाइ छ ।

प्रकाशित : शनिबार, असार १३, २०७७१४:१५

विज्ञहरुको अनुमान ‘फेल’: मौसम हेर्दा सलहको अझ केहि झुण्ड भारतबाट भित्रिन सक्ने !