काठमाडौँ – नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले शरीर स्वस्थ्य हुन मन स्वस्थ्य हुनुपर्ने बताएका छन् । नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान महिला सशक्तीकरण फोरमले शनिबार यहाँ आयोजना गरेको ‘मानसिक स्वास्थ्य’ विषयक कार्यक्रममा उनले मानसिक तनावका कारण मुलुकमा आ-त्माह-त्या बढ्दै गएको बताएका हुन्।
कार्यक्रममा कोरोनाको त्रास, बन्दाबन्दीको समयमा परेको मानसिक तनाब, बाल स्वास्थ्य तथा मातृ शिशु र प्रजननमा परेको असर र बढ्दै गरेको आ-त्माह-त्यालाई लिएर छलफल आयोजना गरिएको थियो । कार्यक्रममा मनोविद् डा छोरी महर्जनले बन्दाबन्दीको समयमा आम मानिसमा बढिरहेको भय, तनाव, विकास भएको निराशा र जीवनप्रतिको उदासिनताका कारण उत्पन्न समस्या र निराकरणका विषयमा विचार प्रस्तुत गरेका थिए ।
प्रतिष्ठानका सदस्य एवं महिला सशक्तीकरण फोरमका संयोजक डा आरजु राणा देउवाले मानसिक स्वास्थ्यका बारेमा आम नागरिकमा चेतना फैलाउन जरुरी रहेको उल्लेख गरे । काँग्रेसकी केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, नेपाल महिला सङ्घकी अध्यक्ष उमा रेग्मीले मानसिक स्वास्थ्यको बारेमा टिप्पणी गरेका थिए। प्रतिष्ठानका कार्यकारी निर्देशक प्राध्यापक पुरुषोत्तम दाहालले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्दै लैजाने जानकारी दिए।