सलह नियन्त्रण गर्न अन्तर्राष्ट्रिय निकाय गुहार्ने सरकारको तयारी !

काठमाडौं : सरकारले सलह फट्यांग्राको बथानमाथि निगरानी गर्न अन्तर्राष्ट्रिय निकायलाई गुहार्ने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यो फट्यांग्राको बढी प्रकोप देखिएको भारतमा निगरानी गर्न संयुक्त राष्ट्र संघको विश्व खाद्य तथा कृषि संगठन (एफएओ) सँगै भारतको कृषि मन्त्रालयलाई गुहार्ने निर्णय गरेको छ । यो समाचार आजको अन्नपूर्णपोस्टमा प्रकाशित छ।

विभागीय मन्त्री घनश्याम भुसालको संयोजकत्वमा आइतबार बसेको बैठकमा भारतमा निगरानी गरी त्यसको आधारमा नेपालमा प्रकोप नियन्त्रण गर्न दुवै निकायलाई गुहारेर सहकार्य गर्ने निर्णय गरिएको हो । उनका अनुसार भारतको राजस्थानमा ठूलो बथान देखिएकाले त्यहाँबाट यो फट्यांग्राको ओहोरदोहोर हुन सक्ने निष्कर्ष निकालिएको छ । ‘भारतको राजस्थानमा अझै ठूलो बथान देखिँदैछ’, मन्त्री भुसालले भने, ‘हामीले नेपालमा नियन्त्रण गरे पनि फेरी उताबाट सर्न सक्ने जोखिम छ ।

त्यही भएर उताको अवस्थामाथि निगरानी राखेर नेपालमा प्रकोप नियन्त्रण गर्ने सवालमा एफएओ र भारतको कृषि मन्त्रालयलाई गुहारेर सहकार्य गर्ने निष्कर्ष निकालेका छौं ।’ उनका अनुसार एफएओ र भारतको कृषि मन्त्रालयको सहकार्यमा यो फट्यांग्राको विषयमा रुट ट्रयाकिङ गरिनेछ । त्यसकै आधारमा नेपालमा प्रकोप नियन्त्रण गर्न आवश्यक उपाय परिचालन गरिने भएको छ । बैठकमा गृह मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन समिति, विज्ञ, वैज्ञानिकलगायत सहभागी थिए । मन्त्रालयले नेपालमा देखापरेको सलहको बथान निकै सानो रहेकाले यसले ठूलो परिमाणमा क्षति पुर्याउन नसक्ने दाबी गरेको छ ।

किसानलाई नआत्तिनसमेत मन्त्रालयले आग्रह गरेको छ । भुसालले सलहले प्रभाव पारेको क्षेत्रको विषयमा जानकारी लिन किसानका लागि हटलाइनको व्यवस्था गरिएको बताए । यसका लागि मन्त्रालयले एउटा टेलिफोन नम्बरको व्यवस्थापन गरेर सोमबार सार्वजनिक गर्ने जनाएको छ ।

बैठकमा मन्त्री भुसालले गृहअन्तर्गतको समितिसँग सहकार्य गरेर आवश्यक परेको अवस्थामा सलहको प्रकोप नियन्त्रण गर्न दमकल, ट्याक्ट्रर, ड्रोनसहित सुरक्षाकर्मीसमेत परिचालन गर्ने विषयमा छलफल भएको छ । सलहको प्रकोप नियन्त्रण गर्न आवश्यक बजेटको व्यवस्थापन गर्न मन्त्री भुसालले विभागीय सचिव राजेन्द्र भारीलाई जिम्मेवारी सुम्पेका छन् ।

प्रकाशित : सोमबार, असार १५, २०७७०२:४०

कोरोना महामारी नियन्त्रणतर्फ !