भारत हुँदै नेपाल पसेको सलह किरा स्याङ्जामा पनि देखा परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो किरा देखिएपछि किसान चिन्तित बनेका छन् ।
गाउँपालिका विभिन्न ठाउँमा सलह देखिएपछि गाउँपालिकाले सलह किरा मा-र्नेलाई प्रतिकिलो रु १०० दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । अध्यक्ष थापाले किसानले लगाएको अन्नबाली जोगाउन यस्तो निर्णय गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सलह किरा छिट्टै नियन्त्रण गर्न नसके यसले अन्नबाली सखाप पारेर खाद्यान्नको समस्या हुनसक्ने भएकाले किसानलाई जागरुक बनाउन सलह किरा मा-र्ने किसानलाई पैसा दिने निर्णय गरेका हौँ ।”
साँझ गाउँपालिकाको आलमदेवी, बाँसटारी, गुरुङ्दी, सटुका, खोरबारी, छापलगायतका ठाँउमा सलह किरा देखिएको गाउँपालिकाले जनाएको छ । स्थानीय बासिन्दाले खेती जोगाउनका लागि आगो बाल्नुका साथै थाल ठटाएर सलह धपाइरहेको स्थानीय विष्णु न्यौपानेले बताउनुभयो । यसैगरी हरिनास गाउँपालिकाको चित्रेमा पनि सलह किरा देखिएको गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले जानकारी दिनुभयो ।
सलह किरा जिल्लामा प्रवेश गरेपछि गल्याङ नगरपालिकाका किसानलाई सचेत गराइएको नगरपालिकाका पशु सेवा शाखाका अधिकृत सुशील अर्यालले बताउनुभयो । किसानलाई धानको ब्याड र नर्सरी गरेर राखिएका बिरुवामा झुल टाँगेर राख्न भनेको अर्यालले बताउनुभयो । खेतबारीमा सलह किरा देखिएपछि स्थानीयवासी यतिबेला आगो बाल्नुका साथै ठूलो आवाज निकालेर भाँडाकुँडा ठटाएर सलह किरा धपाउन जुटेका छन् ।
लमजुङ : सलह किरा लमजुङमा पनि प्रवेश गरेको छ । जिल्लाको सुन्दरबजार नगरपालिका–६ फेदिकुनामा आइतबार सलह किरा देखिएको हो । स्थानीयले सलह किरा प्रवेश गरेको जानकारी दिएपछि कृषि ज्ञानकेन्द्र कार्यालय लमजुङबाट कार्यालय प्रमुख रोहिणीराज घिमिरे, अर्थविज्ञ मदन रेग्मीलगायतका टोली अनुसन्धानका लागि पुगेको छ । कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख घिमिरेले भन्नुभयो, “सलह किराजस्तै देखिएको छ तर ठूलो समूहमा यो किरा आएको छैन, सलह किराको एउटा प्रजाति भएको देखिन्छ यहाँ जम्मा १०/१२ वटा मात्र फेला परेको छ ।” उहाँका अनुसार सलह किरा भएको आशङ्का भए पनि पुष्टि भइसकेको छैन ।
कैलाली : कृषि विज्ञले पश्चिम नेपालमा सलह किराको यात्रा हुनसक्ने पूर्वअनुमान गरेपछि धनगढी उपमहानगरपालिकाले आइतबार यहाँ १९ वटै वडाका वडाध्यक्ष र कृषि शाखाका कर्मचारीसँग छलफल गरेको छ । सलह किराको व्यवस्थापनको पूर्वतयारीका लागि स्थानीयस्तरमा कसरी क्षति घटाउन सकिन्छ भनेर छलफल गरिएको बताइएको छ ।
सलह किराको सम्भाव्य जोखिम र त्यसको व्यवस्थापनका बारेमा छलफल गरिएको नगरप्रमुख नृपबहादुर वडले जानकारी दिनुभयो । “जोखिम घटाउनका लागि स्थानीयस्तरमा सबै उपाय अपनाउन वडाध्यक्ष र कृषि प्राविधिकलाई निर्देशन दिएको छु”, नगरप्रमुख वडले भन्नुभयो, “क्षति घटाउनका लागि थाल ठटाउने, ड्रम बजाउने, स्पीकर बजाउने, धुँवा लगाउने, आगो बाल्नेलगायत सबै प्राकृतिक विधि अपनाउन किसानलाई आग्रह गरेका छौँ ।”