भारतीय मिडियामा खुसियाली: लेख्छन् ‘भारत विरुद्ध लाग्दाको फल, ओलीले राजिनामा नदिई धर छैन’

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा शीर्ष नेताबीच उत्पन्न किचलोलाई भारतीय मिडियाहरुले प्राथमिकताका साथ सम्प्रेषण गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी भित्रैबाट राजिनामा माग भएको विषयलाई भारतीय मिडियाहरुले भारतसँग पङ्गा लिँदाको परिणाम भनेर विश्लेषण गरेका छन्। भारत विरुद्ध लाग्दा चालिएका कदम ओली विरुद्ध नै ‘ब्याकफायर’ भएको उनीहरुको दावी छ।

नेपालले भारतविरुद्ध नक्सा जारी गरेपछि राजनीतिक संकट चुलिएको र भारतसँग बखेडा झिक्न नक्सा जारी गर्दा ओलीको पद नै संकटमा अपरेको भारतीय संचार माध्यमहरु लेख्छन्।

भारतीय मिडिया आजतकले ओलीको सरकार सङ्कटमा परिसकेको भनेर समाचार सम्प्रेषण गरेको छ। पार्टीका अर्का अध्यक्ष प्रचण्डले नै राजिनामा मागेपछि ओली झनै सङ्कटमा परेको उसको दावी छ। आजतकले ओलीले राजीनामा नदिए पूर्व माओवादी खेमाका मन्त्रीले सामूहिक राजीनामा दिनसक्नेपनि दावी गरेको छ।

त्यति मात्र होइन, आजतकले मंगलबार राति ओलीले सत्ता बचाउन चिनियाँ राजदूत भेटेको र चिनियाँ राजदूतले पनि हात माथि गर्दिएको उल्लेख गरेको छ। चिनियाँ पक्षबाट पनि सहयोग नमिल्ने भएपछि ओलीले राजिनामा दिन बाहेक विकल्प नरहेको आजतक दावी गर्छ।

सत्तारुढ नेकपा भित्रको विवादले भारतीय संचार माध्यमहरुलाई उत्साहित बनाएको देखिएको छ। भारतीय मिडियाहरु ओलीको सरकार ढल्ने अवस्था आइसकेको र त्यसको कारण भारत विरुद्ध कदम उठाउनु रहेको बताइरहेका छन्।

स्थायी कमिटी बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले नेकपाभित्रको राजनीति र रणनीतिबारे दिल्लीका मिडियामा हुबहु खबर आउने गरेको भन्दै असन्तुष्टि जनाईरहेका बेला यस्ता समाचार आएका हुन्।

प्रकाशित : बुधबार, असार १७, २०७७०८:४६

भारतमा झण्डै छ लाख सङ्क्रमित, मृत्यु बढ्दै !