काठमाडौँ – ड्रोन उडाउने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार काठमाडौं महानगरपालिका–२ लाजिम्पाटमा ड्रोन उडाउने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीहरुलाई अनुमति नलिई ड्रोन उडाएका कारण पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ गरिएकाहरुमा मार्चिङ एण्ड प्रालिका कर्मचारी ललितपुर महानगरपालिका–१० बस्ने ३१ वर्षीय रवि शाक्य सहित ४ जना छन्।
लाजिम्पाटमा कसैले ड्रोन उडाएको भन्ने खबर प्राप्त भएसँगै त्यहाँ पुगेर नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ। उनीहरुलाई महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको बताइएको छ।
लाजिम्पाटमा रहेको माछापुछ्रे बैंकको भवनको भिडियो खिच्न मार्चिङ एण्ड प्रालि कम्पनीले ड्रोन उडाएको र निषेधित क्षेत्रमा ड्रोन पुगेका कारण पक्राउ गरिएको प्रहरीको भनाई छ।
प्रहरीले मानव रहित हवाई उपकरण ड्रोन पनि नियन्त्रणमा लिएको छ।