काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र चुलिएको विवादले संघीय लोकतान्त्रिक गणतन्त्र माथि नै खतरा बढेको बताएका छन्।
नेकपा भित्र चुलिएको विवाद सँगै सङ्घीय संसद्को अधिवेशन अन्त्य गरिएपछि जनता समाजवादी पार्टीका वरिष्ट नेता समेत रहेका भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र नै खतरामा पर्ने अवस्था आएको बताएका हुन्। कुकुरलाई घीउ पच्दैन भने जस्तै सत्तारुढ नेकपाका नेताहरुलाई पनि बहुमतको सरकार नपचेको भट्टराईको बुझाई छ।
“कुनैकुनै प्रणीलाई घीउ पच्दैन रे! हाम्रा कमरेडहरूलाई पनि दुइतिहाइ करिब बहुमतको सरकार नपचेको जस्तो छ।”,ट्वीटर मार्फत सांसद समेत रहेका भट्टराईले भनेका छन्। नेकपा भित्रको विवादले कतै संसद र लोकतन्त्रलाई नै पो हानी गर्ने हो की भन्ने उनको शंका छ।
“त्यो अजीर्णताले संसद र लोकतन्त्रलाई नै हानी गर्ने हो कि भन्ने खतरा चैं बढी गम्भीर भो! सबै सजग रहौं र खबरदारी गरौं- यत्रो त्या-ग/ब-लिदा-नबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्!”,भट्टराईले लेखेका छन्।
नेपाल भित्र ओलीको राजिनामा माग भइरहेको छ। जारी स्थायी कमिटिको बैठकमा धेरै जस्तो सहभागीहरुले ओलीको राजिनामा माग गरिरहेका छन्। सरकार र पार्टी दुवैबाट राजिनामा माग गरिएपछि यति बेला ओली नयाँ रणनीतिका साथ अगाडी बढिरहेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले साँझ ५ बजेदेखि सङ्घीय संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरिसकेकी छन्। एक्कासी अधिवेशन अन्त्य गर्ने निर्णय सँगै नेपाली राजनीतिका तहल्का नै मच्चिएको छ।