काठमाडौँ – भारतीय संचार माध्यमहरुले भारत विरुद्ध लाग्दा ओली सत्ता ध्वस्त भयो भनेर समाचार लेखेका छन्। भारतबाट प्रकाशित हुने धेरै जस्तो अनलाइन मिडियाहरुले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रबाट ओलीको राजिनामा माग हुनुलाई भारत विरुद्ध लाग्दाको परिणाम भनेर परिभाषित गरेका छन्।

नेपालको राजनीतिक यस उथलपुथललाई भारतीय संचार माध्यमहरु धेरै नै महत्व दिएको पाइएको छ। धेरै जस्तो मिडियाहरुले आफ्नो सत्ता जोगाउन ओलीले फ्यालेको ‘कालापानी-लिपुलेक-लिम्पियाधुरा’को गोट्टीले काम नगरेको दावी गरेका छन्।

यस्तै केहि संचार माध्यमहरुले भारत विरुद्ध अनावश्यक भाषण गरेका कारण अपनी ओलीको सत्ता धर्मराएको दावी गरेका छन्। भारत विरुद्ध अनावश्यक बोलेकै कारण प्रचण्ड क्रुद्ध भएको र उनले राजिनामा मागेको उनीहरु बताउँछन्। ‘नेपाल के पीएम को भारत विरोध भारी पड़ा’ भन्दै एक भारतीय मिडियाले लेखेको समाचारमा ओलीले आज नै राजिनामा दिन लागेको भनेर दावी गरिएको छ।

नेपालको राजनीतिक गतिरोधले भारतीय मिडियामा राम्रै ठाउँ पाएको छ। साथै भारतीय मिडियाहरुले नागरिकता ऐन संशोधन विधेयक विरुद्ध तराईका जिल्लाहरुमा भइरहेको प्रदर्शनलाई पनि महत्वका साथ लिएका छन्। उनीहरुले मधेशी दलहरुले भारतसँग सम्बन्ध नबिगार्न चेतवानी दिँदै उक्त आन्दोलन गरेको दावी गरिरहेका छन्। भारतीय मिडियाहरुका अनुसार उक्त आन्दोलन भारतसँगको सदियौं देखि चलीआएको सम्बन्ध बिगार्न खोज्दाको परिणाम हो।


