काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको किचलो गम्भिर मोडमा पुगेको छ । शिर्ष नेताले नै दोस्रो तहका नेताहरुलाई अब कि सहमति नभए फुट नै भनेर घोषणा गरिदिएका छन् । स्रोतका अनुसार सहमतिको सम्भावना क्षण हुदै गएको छ । कुनै चमत्कार नभए केही दिनभित्र पार्टीमा विभाजन देखिन सक्ने स्वयम नेकपाका नेताहरुले बताउन थालेका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
सरकार दुई वर्ष पुगेपछि नै भएको चलखेल कोरोना संकटकै बेला उत्कर्षमा पुगेको थियो । तर, केही मत्थर जस्तो देखिएको संकट अब सहमति र विभाजन भन्ने अन्तिम विकल्पमा पुगेको हो । अहिले प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओली र ओली इत्तर पक्षबीचको गुटमा चरम असन्तुष्टि देखिएको छ । एकले अर्कालाई सिध्याउने खेलमा पुगेपछि दुवै पक्ष आ–आफ्नो रणनीति बनाउन व्यस्त छन् । ओली इत्तर पक्ष बहुमत र अल्पमतको खेलमा जुटेका बेला ओली भने कानुनी खेलमा लागेका छन् । जसका कारण दुवै पक्ष अहिले पर्ख र हेरको अवस्थामा पुगेका हुन् ।
दोस्रो तहका नेताहरु अझै पनि सहमतिका लागि नेतृत्वले गहन छलफल गर्नुपर्ने भन्दै दबाव दिईरहेका छन् । तर, सचिवालयमा रहेका ९ सदस्य भने पार्टी विभाजनकै तर्फ अग्रसर भईरहेका छन् । नेकपाको मध्यमार्गी धारमा रहेका नेताहरुले एकले अर्को पक्षलाई सिध्याउने खेल शुरु भएकाले तत्कालै सहमति जुटन् कठिन हुने देख्दछन् । यद्यपी दुवै पक्षले लचिलोपना देखाए पार्टी अझै एकताबद्ध भएर आउने सम्भावना पनि बलियो रहेको उनिहरुको भनाई छ ।
असार १४ गते प्रधानमन्त्री ओलीले दिएको एक अभिव्यक्तिलाई निहु बनाएर शुरु भएको राजिनामा मागले अब पार्टी एकता पुरा नहुदै संकटमा परेको छ । ओली इत्तर पक्षको गुट उनलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने तयारीमा जुटेको छ । ओलीले पनि बहुमतका नाममा आफ्नो राजनीतिक भविष्य सकाउन लागेकाले आफु पनि राजनीतिक मैदानमा उत्रिनु परेको सन्देश आफु निकटलाई लिएका छन् ।
स्थायी कमिटीले दुवै पदबाट राजिनामा माग्ने निश्चित जस्तै भएपछि प्रधानमन्त्री ओलीले विहिवारबाटै लागु हुने गरी संसदको बजेट अधिवेशन अन्त्य गरिदिएका छन् । जसबाट उनले प्रधानमन्त्री पदमा रहिरहन सजिलो हुने कानुनी बाटो देखिएको छ । स्थायी कमिटी बैठक बसिरहेका बेला बसेको मन्त्रीपरिषद् बैठकले संघीय संसद अधिवेशन अन्त्य भएको घोषणा आएपछि नेकपाभित्र खैलाबैला भएको थियो । ओलीले आफु अन्य कार्यमा व्यस्त भएकाले बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका थिए । त्यसबीचमा केशब बडाल र अमृतकुमार बोहोराले बैठकमा आफ्नो धारणा राखेका थिए ।
त्यसपछि बैठक नै स्थगित गरेर अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष ओली भेट्न पुगेका थिए । उनले ओलीसँग संसदको अधिवेशन अन्त्य र अध्यादेश ल्याउने विषयमा जानकारी मागेका थिए । अधिवेशन अन्त्यका विषयमा भने दुवै पक्षले भिन्न भिन्न धारणा राखेका छन् । ओली पक्षले प्रचण्डलाई समेत सोधर अधिवेशन अन्त्य गरेको बताएको छ भने प्रचण्ड पक्षले कुनै छलफल नै नभएको दावी गरेको छ । प्रचण्ड पक्षले ओलीले अधिवेशन अन्त्य गरेर दल विभाजनसम्वन्धि अध्यादेश ल्याउन लागेको आरोप लगाएको छ ।