नेकपा विवाद: बिहिबार के-के भए दिनभर?

काठमाडौँ – बुधबार साँझै स्थायी समितिका ४४ मध्ये ३० सदस्य सहभागी बैठकले ओलीलाई राजीनामा जसरी पनि गराउने निष्कर्ष निकालेको थियो। त्यसपछि नेताहरूबीच अविश्वास झन् चुलिएको थियो। यो समाचार आजको अन्नपुर्णपोस्टमा प्रकाशित छ।

बिहीबार बिहान दाहालले ओली निकट नेताहरू उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, सुवास नेम्बाड, प्रदीप ज्ञवाली, शंकर पोखरेल, विष्णु रिमाललगायतलाई आफ्नो निवासमा बोलाएका थिए। उनीहरूले दुई अध्यक्ष मिलेर जाने प्रस्ताव राखे। स्रोतका अनुसार दाहालले पार्टीमा प्रधानमन्त्रीको एकाधिकार चलेको र त्यसले आफूलाई अपमानित मात्र बनाएको बताएका थिए। दाहालले पार्टी एकता अगाडि नै भएको आलोपालो सरकार सञ्चालनको विषय छोडेर कमजोरी गरेको र त्यसैमा टेकेर प्रधानमन्त्रीले आफूलाई अपमानित गरेको ओली निकट नेताहरूलाई जवाफ दिएका थिए।

‘मेरो कमजोरी भनेको मैले राखेका अडानहरू छोड्नु हो। मैले विगतमा भएका सहमति र अडान छोडें। तर उहाँ (प्रधानमन्त्री ओली) ले पार्टीमा एकाधिकार गर्नुभयो। मेरो अपमान भयो,’ ओली निकट नेतासँग दाहालले भनेका थिए।

ओली निकट नेताहरूले भने दुई पार्टी मिलेर नेकपा बनेको र दुई नेता मिलेरै अहिलेको संकटको समाधान खोज्न दाहालसँग आग्रह गरेका थिए। दुई नेता मिलेर जाने गरी समझदारीमा नजाँदा पार्टीमा दुर्घटना निम्तिन सक्ने ओली पक्षका नेताहरूले दाहाललाई सुनाएर फर्केका थिए। उक्त छलफलमा दाहाल पक्षका नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र पम्फा भुसाल सहभागी थिए। त्यसपछि फेरि बालुवाटारमा स्थायी समितिको बैठक अगाडि प्रधानमन्त्री ओली र दाहालबीच छलफल भएको थियो। त्यसक्रममा ओलीले आफूले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै नछाड्ने जानकारी गराउँदै दाहालसँग अन्य विषयमा मात्र छलफल गरौं भन्ने प्रस्ताव गरेका थिए। त्यहीं ओलीले आफूले मन्त्रिपरिषद् बैठक राख्न खोजेको दाहाललाई जानकारी गराएका थिए। तर, दाहालले पार्टी बैठक बसिरहेका बेला मन्त्रिपरिषद् बैठक नराख्न आग्रह गरेका थिए। ओलीले पनि दाहाललाई दुई दिन स्थायी समितिको बैठक स्थगित गर्न भनेका थिए। तर, दुवै बैठक भए। ओली–दाहाल छलफलपछि बालुवाटारमै प्रधानमन्त्री ओलीको अनुपस्थितिमा दाहालले पार्टी स्थायी समिति बैठक सुरु गरे। तर ओली भने बैठकमा नगई राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगे।

ओलीले शीतल निवासबाट फर्केपछि बिहीबार मध्याह्न मन्त्रिपरिषद् बैठक राखे। स्थायी समितिमा रहेका मन्त्रीहरू बैठकस्थलमा पुग्दा अमृत बोहोरा र केशव बडालले आफ्नो धारणा राखिसकेको थिए। बडालले ओलीको वचाउमा बोलेका थिए। बोहोराले प्रधानमन्त्रीले अनुशासन तोडेको आरोप लगाएका थिए। बैठक कक्षमै ऊर्जामन्त्री वर्षमान पुनले प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक राखेको जानकारी गराउँदै समन्वयकारी भूमिका खेलिदिन दाहालसँग आग्रह गरेका थिए। दाहालले भने मन्त्रीहरूलाई क्याबिनेट बैठकमा जान निर्देशन दिँदै पार्टी बैठकमा भने, ‘मैले प्रधानमन्त्रीलाई बैठक नराख्न भनेर आएको थिएँ। तर राख्नुभएछ। तपाईं मन्त्रीहरू जानुहोस्। तर त्यहाँ अध्यक्षसँग भएको छलफलका आधारमा मात्र गर्नुहोस् भनेर फर्किनुहोस्। ’मन्त्रिपरिषद् बैठक एकदमै छोटो भयो। कतिपय मन्त्री पुग्दा नपुग्दै बैठक सकिइसकेको थियो। बैठकमा मन्त्रीहरू रामबहादुर थापा, वर्षमान पुनलगायतले संसद् अधिवेशन अन्त्यको कुरा पार्टी बैठक चलिरहेकाले पार्टीसँग सल्लाह गरेर निर्णय लिन प्रधानमन्त्रीलाई आग्रह गरेको एक मन्त्रीले बताए।

मन्त्रीहरू क्याबिनेट बैठकमा गएपछि दाहालले केहीबेर स्थायी समितिको बैठक स्थगन गरेका थिए। तर जब मन्त्रिपरिषद्ले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय लिएको जानकारी पार्टीका नेताहरूले पाए, त्यसपछि ओलीसँग छलफल गर्ने भन्दै अध्यक्ष दाहाल, महासचिव विष्णु पौडेललगायत नेताहरू प्रधानमन्त्रीलाई भेट्न पुगे। ओलीसँग दाहालले भने, ‘मन्त्रिपरिषद् बैठक नराख्ने समझदारीमा किन जालझेल र षड्यन्त्र गर्नुभयो ? सीधा बैठक राख्छु भन्न सक्नुहुन्थ्यो, किन भन्नुभएन ? के गर्न खोज्नु भएको छ ? ’

प्रधानमन्त्री ओलीले महामारीको अवस्था, संसद्मा बिजनेस नरहेकोले किन राखिरहौं भन्ने लागेर अन्न्य गरेको जवाफ फर्काएका थिए। सँगै प्रधानमन्त्रीले दाहाललाई भनिदिए, ‘अध्यादेश दुई चार दिन आउँदैन, ढुक्क हुनुहोस्। ’

दाहाल र महासचिव पौडेल प्रधानमन्त्रीलाई भेट्न पुग्दा त्यहाँ उपप्रधानमन्त्री ईश्वर पोखरेल र सुवास नेम्बाड पनि थिए। प्रधानमन्त्रीले अध्यादेश नआउने बताएपछि नेम्बाडले प्रधानमन्त्रीले अध्यादेश नआउने बताउनु भएकोले उहाँलाई विश्वास गरौं भन्दै दाहाललाई थप विश्वस्त पार्न खोजे।

दाहाल भने वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग छलफल गरेर राष्ट्रपतिलाई भेटन शीतल निवास पुगे। शीतल निवासमा राष्ट्रपति भण्डारीले दाहाललाई पार्टी एकता भत्किन नदिन आग्रह गरेकी थिइन्। दाहालले भने सरकारले जुनकुनै बेला अध्यादेश ल्याउन सक्ने र त्यसलाई आउनेबित्तिकै जारी गर्ने काम नगरी तटस्थताको भूमिका निर्वाह गर्न आग्रह गरेका थिए। प्रत्युत्तरमा राष्ट्रपतिले ‘अहिले त अध्यादेश आएको छैन नि’ भनेकी थिइन्। बैठकमा सहभागी एक सदस्यका अनुसार उक्त भेटका बातचितबारे दाहालले पछि पार्टी बैठकमा जानकारी गराएका थिए। राष्ट्रपति निवासबाट फर्केपछि दाहालले बालुवाटार फर्केर स्थायी समिति बैठक सुचारु गरेका थिए। उनले प्रधानमन्त्री र राष्ट्रपतिसँग भएका छलफलबारे त्यहाँ जानकारी गराएका थिए। त्यसपछि बैठक शुक्रबार एक दिन प्रधानमन्त्रीसँग निर्णायक छलफल गर्ने र पार्टी एकता जोगाउने प्रयास गर्ने भन्दै स्थगित गरिएको थियो। बैठक फेरि शनिबार ११ वजे बस्नेछ।

प्रकाशित : शुक्रबार, असार १९, २०७७०१:४८

यसकारण हट्दैनन् प्रधानमन्त्री ओली, दुवै पदबाट दिँदैनन् राजिनामा !