काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरुलाई गज्जबले थर्काएका छन्।
शुक्रबार स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६औं जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा देउवाले नेविसंघले संगठन विस्तारमा काम नगरेको भन्दै देउवाले थर्काएका हुन्।
देउवाले नेविसंघ नेताहरु काठमाडौंमा भाषणबाजीमा व्यस्त रहेर संगठन विस्तारको लागि कुनै ठोस काम नगरेको भन्दै आक्रोश पोखे। उनले गाउँठाउँ स्कुल कतैपनि नेविसंघ नरहेको र कुनै पनि स्थानमा जित्ने अवस्थामा नरहेको बताए।
“राम्रोसँग गर्नुस्, नेविसंघलाई बलियो बनाउनुस् । गाउँठाउँमा सबै स्कुल कलेजमा जित्नुस् । जहाँ पनि हारेको हार्यै छ नेविसघं लाजपनि छैन । हामी सबैठाउँमा जितेका थियौं । नेविसंघ कहाँ छ आज ? गाउँमा छ ? स्कुलमा छ ? अहिले गाउँमा कहीँपनि नेविसंघ देखिँदैन । गाउँ स्कुलमा जवसम्म नेविसंघ हुँदैन तवसम्म कहिल्यै पार्टी बलियो हुँदैन ।”,उनले भने।
देउवाले आफ्नो पालामा नेविसंघले सबैठाउँमा जितेको पनि सुनाए। काठमाडौँमा बसेर भाषण गर्दैमा केहि नहुने उनको भनाई छ। कम्युनिष्टहरुले गाउँगाउँमा संगठन बनाएकै कारण जितेको देउवाले बताए।
“त्यही नेविसंघ त हो नी पार्टी भन्ने । कहाँ छ नेविसंघ ? कतिपल्ट भन्ने । कहिले सभापतिलाई भने । एबाबा गाउँमा बोलाउ गाउँमा । स्कुलमा नेविसंघ बनाउ बनाउँदै बनाउँदैन् । अनि हारेको हार्यै छ । सबै ठाउँमा कहाँबाट कम्युनिष्टले जित्यो यहाँ । कसरी जिते कम्युनिष्टहरु । उनीहरुले गाउँगाउँमा बनाए । काठमाडौंमा आएर बर्ताबर्ता भाषण गरेर केही हुने वाला छैन । गाउँमा जाउँ गाउँमा । गाउँमा बनाउ, गाउँको स्कुलमा बनाउ नेविसंघ, अनिमात्र झगडा गर्न आउ । केही नगर्ने मसित कुरा गर्ने ?”
आफू अहिलेसम्म चार पटक प्रधानमन्त्री भइसकेको सुन्दाउँदै उनले अहिलेको कोहीँपनि विद्यार्थी नेताहरु भविष्यमा प्रधानमन्त्री बन्ने लायकको नभएको बताए। यस्ता नेताहरुलाई लाज लाग्नुपर्ने देउवाको भनाई छ।

