काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण काठमाडौंमा एक जनाको ज्यान गएको छ। असार १७ गते मृत्यु भएका एक वृद्धमा कोरोनाको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उनले नयाँ बानेश्वर बस्दै आएका ८५ वर्षीय एक पुरुषको असार १७ गते मृत्यु भएको र उनीमा कोरोनाको पुष्टि भएको जानकारी गराए।
गौतमका अनुसार उनलाई उच्च रक्तचाप र पार्किन्सनको समस्या भएपछि अस्पताल पुर्याइएको थियो। यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२पुगेको छ।
शुक्रबार हालसम्मकै धेरै कोरोनाका संक्रमित थपिएका छन्। नेपालका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट नेपालमा अहिले सम्मकै धेरै ७४० जनामा कोरोना पुष्टि भएको हो।
यो सँगै सङ्क्रमितको सङ्ख्या १५ हजार २५९ पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म ६ हजार १४३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
विगत २४ घण्टामा ४ हजार ४ सय ८३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म २ लाख ४२ हजार बढीकाे पिसिआर परीक्षण भएकाे छ।