काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मन्त्री तथा राज्यमन्त्रीहरुसँग परामर्श गरिरहेका छन् । उनले मन्त्री र राज्यमन्त्रीहरुसँग समसामयिक विषयमा परामर्श गरिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
आज साँझ शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्री र राज्यमन्त्रीसँग परामर्श गरेका हुन् ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता तहमा विभिन्न विषयमा विवाद देखिँदै आएको छ । यसका कारण स्थायी कमिटी बैठकसमेत पटकपटक स्थगित हुँदै आएको छ । विवादित विषयमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न चरणमा छलफल गरिरहेका छन् ।
यसअघि शुक्रबार विवाद मिलाउन अध्यक्ष एवं प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड¬बीच भएको छलफल सकारात्मक दिशामा उन्मुख भएको थियो । आज भने दुई अध्यक्ष बीचमा छलफल हुन सकेको छैन । अध्यक्ष दाहाल पनि विवाद अन्त्य र एकताका लागि विभिन्न नेताहरुसँग परामर्शमै छन् ।