कक्षा १ को पुस्तक छपाइमा आर्थिक चलखेल: कक्षा १ का ७ लाख विद्यार्थी पुस्तकविहीन !

काठमाडौँ – पाठ्यक्रम विकास केन्द्रले कक्षा १ को पुस्तक छपाइमा आर्थिक चलखेल शुरु गरेको छ । पाठ्यपुस्तक छपाइ गर्न स्वीकृति पाएका करिब १८ पुस्तक प्रकाशक तथा बिक्रेतालाई केही रकम बुझाए मात्र पुस्तक छपाइ र बिक्री गर्न दिने बताउँदै आएको छ । एक पुस्तक प्रकाशक र बिक्रेताका अनुसार केन्द्रले प्रति प्रकाशक १ लाख ५० हजार रुपियाँ माग गरेको बुझिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

‘माघमा सूचना प्रकाशित गरी ३० दिनभित्र पुस्तक छपाइ गरी केन्द्रमा बुझाउन निर्देशनसहितको चिठी दिएको थियो । तर चिठी उपलब्ध गराएपछि छपाइ स्वीकृत नदिएर प्रकाशकलाई आर्थिक दबाब दिएको छ । माघमा सूचना जारी गरेपछि पुस्तक प्रकाशकले परिवर्तन भएको प्रति पुस्तक १० हजार रुपियाँ राजस्व बुझाइसकेका थिए । राजश्व बुझाएर प्रक्रिया शुरु गर्न खोज्दा अहिलेसम्म पुस्तक छपाइ गर्न निर्देशन दिएको छैन’ –एक प्रकाशकले नेपाल समाचारपत्रसँग भने ।

स्वीकृत पाएर पनि पुस्तक छपाइ गर्न नदिएर चलखेल गरेको आशंकामा करिब डेढ महिनाअघि केन्द्रबाट पाठ्यपुस्तक छपाइसम्बन्धी फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगेको थियो ।

केन्द्रका महानिर्देशक केशव दाहालले आफूहरुले कुनै आर्थिक चलखेल नगरेको र कुनै प्रकाशकसँग रकम माग नगरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘यो सबै हावादारी कुरा हुन्, रकम मागेको भए मसँग कुरा गर्न आउनुपर्छ ।’ तर केन्द्रले चैतमा पुस्तक प्रकाशन गरी बिक्री गरिसक्नुपर्ने अवस्थामा हालसम्म छपाइ गर्न नदिन चलखेल भएको आशंका गरिएको छ ।

केन्द्रका महानिर्देशक दाहालले अख्तियारले छानबिन सकेपछि मात्रै छपाइ स्वीकृत दिने बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘हामी अख्तियारमा जाँदै छौं, निर्णय भएपछि मात्र छपाइ गर्न दिन्छौं ।’ तर पुस्तक प्रकाशकहरुले आर्थिक चलखेलकै कारण पुस्तक छपाइ गर्न नदिएको आरोप लगाउँदै आएका छन् ।

सरकारले यो वर्षदेखि कक्षा १ का लागि नयाँ पाठ्यक्रम लागू गरेको छ । नयाँ पाठ्यक्रम लागू गरेपछि समयमै पुस्तक छपाइ गर्न दिनुपर्ने केन्द्रले मनोमानी गर्दै आएको प्रकाशक र बिक्रेताको आरोप छ । ‘तीन महिना भयो पुस्तक छपाइ गर्न दिने विषयमा अत्तोपत्तो छैन, कक्षा १ का नयाँ कोर्स पढ्ने करिब ७ लाख विद्यार्थी वञ्चित भएका छन्’ –उहाँले भन्नुभयो । स्रोतका अनुसार केन्द्रका उच्च कर्मचारीले प्रकाशकसँग भेट गरी अख्तियारसँग कुरा मिलाएर फाइल फिर्ता पठाउने व्यवस्था मिलाउन गुहारिरहेका छन् ।

प्रकाशित : सोमबार, असार २२, २०७७०२:३४

कस्तो अवस्थामा जान्छ प्रधानमन्त्रीको पद ? यस्तो छ संवैधानिक व्यवस्था !