विश्वमै धेरै भीड हुने फ्रान्सको लुवर सङ्ग्रालय तीन महिनापछि खुल्यो !

पेरिस – विश्वकै अत्यधिक धेरै मानिस जाने मानिने फ्रान्सको लुवर सङ्ग्रालय झण्डै साढे तीन महिनापछि पुनः खुलेको छ ।

कोरोनाभाइरसको सङ्क्रमणको खतरा बढ्दै गएपछि बन्द गरिएको सङ्ग्रालय सोमबारदेखि सर्वसाधारणका लागि पुनः खुल्ला गरिएको हो ।

पुनः खुल्ला गरिएपछिको पहिलो दिनमा सोमबार झण्डै सात हजार मानिसले सङ्ग्रालय भ्रमण गरेको जनाइएको छ । जवकी कोरोनाभाइरसको सङ्क्रमण फैलिनु अघिसम्म दैनिक ३० हजार मानिसले सङ्ग्रालयको भ्रमण गर्ने गरेका थिए ।

सङ्ग्रालयमा आउनेहरुलाई मास्क लगाउन अनिवार्य गरिएको सङ्ग्रालयका अध्यक्ष तथा निर्देशक जेन लुक मार्टिनेजले जानकारी दिए।

हरेक चरणमा ५०० आगन्तुकहरुलाई व्यवस्थापन गर्ने गरिएको उनले बताए। त्यसका लागि उनीहरुलाई आधारभूत स्वास्थ्य सतर्कता र मापदण्डहरु पुरा गर्नै पर्ने व्यवस्था पनि गरिएको उनको भनाइ छ ।

आगन्तुकहरुलाई बस्ने ठाउँमा सामाजिक दुरी कायम हुनेगरी व्यवस्था गरिएको र एकातिरबाट जाने र अर्कोतिरबाट निस्कने व्यवस्था गरिएको छ । एउटै बाटोमा फर्केर हिड्न नपाइने नियम लगाइएको मार्टिनेजले बताए।

चर्चित यस सङ्ग्रालय गत मार्च महिनाको १३ तारिखदेखि बन्द रहेको थियो । बन्दका कारण दशौँ लाख टिकट विक्रीबाट हुने आम्दानी गुमेको र धेरै टिकटहरु फिर्ता गर्नु परेको पनि उनले जानकारी दिए।

सङ्ग्रालयमा युरोपेली देशबाहेक चीन, दक्षिण कोरिया, जापान, अमेरिका, ब्राजिललगायतका देशबाट आउने आगन्तुकहरु नदेखिएको पनि उनले बताए ।

प्रकाशित : सोमबार, असार २२, २०७७१४:४६

काठमाडौँ उपत्यकामा सङ्क्रमित बढे, फरक-फरक ठाउँमा कोरोना फैलिएको आशंका !