कोरोना जोखिम: अस्पतालमा स्वास्थ्य सावधानी अपनाउँदैनन् बिरामी र कुरुवा !

काठमाडौँ । कोभिड–१९ का सङ्क्रमितसँगै अरु किसिमका बिरामीको उपचार गरिरहेको पाटन अस्पतालमा आउने बिरामी र कुरुवाले आवश्यक स्वास्थ्य सावधानी अपनाएको पाइएको छैन । अस्पतालमा पुग्दा कतिपय कुरुवा र बिरामी समूहमै बस्ने र माक्सको प्रयोग नगरेको देख्न सकिन्छ ।

अस्पतालको बहिरङ्ग विभाग, वार्ड र कतिपय विभागमा बिरामी समूह समूहमा बस्ने गरेका छन् । अस्पतालले ठाउँ ठाउँमा सामाजिक दूरी कायम गर्न भन्दै सन्देशमूलक सामग्री टाँसेको भए पनि बिरामी र कुरुवाले त्यसको पालना गरेको पाइदैन । कतिपयले माक्सको प्रयोग समेत नगरेको पाइएको छ । काठमाडौँ उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पतालको आइसोलेसन भरिएको छ । अरु स्वास्थ्य समस्या लिएर आउने पनि क्रमिक रुपमा बढिरहेको अस्पतालले जनाएको छ ।

अस्पतालमा आउने बिरामीलाई कोभिडबाट बच्नका लागि के गर्नुपर्छ भन्ने जानकारी भए पनि बेवास्ता गरिरहेको निर्देशक डा विष्णुप्रसाद शर्माले बताउनुभयो । आमनागरिक सचेत नभएकोभन्दा पनि अटेरी भएको उहाँले बताउनुभयो । दुई महिनासम्म बन्दाबन्दी किन भयो र हामीले यो रोगबाट बच्न के गर्नुपर्छ भन्ने धेरैलाई जानकारी छ । सञ्चारमाध्यमले पनि पटक पटक हात धुनु, माक्स लगाउनु र सामाजिक दूरी कायम गर्नु भनिरहेको छ । लकडाउनको कारण धेरैले दुःख पाएको, काममा जान नपाएको र कतिपयले खान पाएनन् भन्ने धेरैले बुझेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “त्यो कुरा बुझेर पनि भीडभाड गरिरहेको देखिन्छ ।”

अस्पताल प्रशासनले भने आवश्यक स्वास्थ्य सावधानी अपनाएर सेवा सञ्चालन गरिरहेको छ । कोभिड र नन कोभिड सेवाका लागि छुट्टाछुट्टै व्यवस्थापन गरिएको छ । कोभिड बिरामीलाई आवश्यक आइसोलेसन, आकस्मिक कक्ष, आइसियूलगायतको छुट्टै व्यवस्थापन गरिएको छ । अस्पतालले चिकित्सकलाई आवश्यक माक्स, पिपिईलगायतको स्वास्थ्य सुरक्षाका सामग्री दिएको र दूरी कायम गर्न भनिएको निर्देशक शर्माले बताउनुभयो ।

पहिले १० देखि १२ जना डाक्टर बस्ने हलमा अहिले चार पाँच जना मात्रै बस्न भनिएको छ । आवश्यक टेबुललगायतका सामग्री छुट्टाछुट्टै व्यवस्था गरिएको उहाँले बताउनुभयो । जचाउन आउने बिरामीलाई पनि एकएक जना गरी आउन भनिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ भीडभाड नगर्न भनिरहेका छौँ ।”

कोभिड र नन कोभिड दुईतिर गरेर छुटाएर सेवा दिँदा व्यवस्थापन गर्न सहज नभएको उहाँले बताउनुभयो । जनशक्ति र आवश्यक सामग्री व्यवस्थापन केही गाहे छ । अस्पतालमा कोभिडको उपचार भएपनि सबै छुट्टाछुट्टै भएकाले सावधानी अपनाउँदा जोखिम छैन । उहाँका अनुसार अस्पतालले सेवा छुट्टाछुट्टै गरेको भनेपनि कतिपय गेटभित्रै आउन डराउने गरेको छन् । उहाँले भन्नुभयो, “सबैले डराउनेभन्दा पनि सचेत हुनुपर्छ ।”

अस्पतालले बन्दाबन्दीको शुरुदेखि नै कोभिड–१९ का सङ्क्रमितको उपचारसँगै नियमित सेवाका लागि आउने बिरामीको उपचार गरिरहेको छ । कोभिड–१९ का सम्भावित बिरामीलाई ‘आइसोलेसन श्यया’ मा राखेर उपचार गरिएको छ । अरु सबै किसिमका समस्या लिएर बिरामी अस्पताल आइपुग्ने गरेका छन् । बन्दाबन्दीले बिरामीलाई अस्पतालसम्म आउन सहज नभएकाले केही सङ्ख्या घटे पनि खुकुलो भएसँगै बिरामी बढीरहेको निर्देशक शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “ सामान्य अवस्थाभन्दा कम भए पनि सबै खालका बिरामी आइरहेका छन् ।”

अस्पतालले सङ्क्रमितलाई उसको अवस्थाअनुसार उपचारका लागि तयारी गरेको छ । रुघाखोकी र ज्वरोका कुनै पनि बिरामी अस्पताल पुगेपछि उसलाई छुट्टै राख्ने श्यया (आइसोलेसन वार्ड) को व्यवस्था गरिएको छ । यही श्ययामा बिरामीको परीक्षण हुने गरेको निर्देशक शर्माले बताउनुभयो । परीक्षणमा पोजेटिभ देखिँदा ती व्यक्तिलाई राख्न अस्पतालको आइसोलेसनमा राखिन्छ ।

अस्पतालमा कोभिड–१९ सङ्क्रमित ४७ जना छन् । आइसोलेसनमा १५ जना छन् भने आइसियूमा सङ्क्रमित पाँच जना छन् । अस्पतालमा कोभिड–१९ का सङ्क्रमित र सम्भावित सङ्क्रमित राख्न व्यवस्था गरिएको श्यया भरिभराउ छन् । पहिले पिसिआर प्रविधिबाट परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने गरिएकामा अहिले अस्पतालमै परीक्षण हुन थालेको छ । अस्पतालमा दैनिक दुई सयदेखि २५० जनासम्म पिसिआर परीक्षणका लागि आइरहेका छन् ।

अस्पतालको क्षमता सङ्क्रमित ४५, आइसोलेसनमा १५ र आइसियूमा २१ जना रहेको छ । अहिलेसम्मको अवस्थामा यसैले निरन्तरता पाउने र धान्न नसक्ने अवस्था आउँदा अर्काे चरणमा जानुपर्छ । भयावहको अवस्था आउँदा सरकारले सिङ्गो अस्पताल नै कोभिड अस्पताल बनाउनुपर्छ ।

अस्पतालले कोभिड–१९ का सङ्क्रमित आउनु पहिलेदेखि नै आवश्यक तयारी गरिरहेको थियो । अहिले पनि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) बनाउने, अस्पताल हातामा निसङ्क्रमित गर्ने, गेटबाट नै स्वास्थ्य परीक्षणलगायतका काम अस्पतालले अहिले गरिरहेको छ ।

प्रकाशित : मङ्गलबार, असार २३, २०७७०९:३०

कोरोनाभाइरसको महामारीकै बीच पर्यटकका लागि दुबई खुल्यो !