काठमाडौँ – बुधबार काठमाडौँ उपत्यकामा २३ जनामा कोरोनाको पुष्टि भएको छ। उपत्यकाका प्रयोगशालामा गरिएको परीक्षणबाट बुधबार उपत्यकाका २३ जनामा कोरोनाको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौँमा १६ जना र ललितपुरमा ७ जनामा कोरोनाको पुष्टि भएको जानकारी दिए। उनका अनुसार राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालामा काठमाडौँका ६ जना र पाटन अस्पतालको प्रयोगशालामा काठमाडौँका १० जना र ललितपुरक ७ जनामा कोरोनाको पुष्टि भएको हो।
बुधबार देशभर २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ।

यस्तै बुधबार थप २ सय ५३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ७ हजार ७ सय ५२ जना उपचारपछि निको भएका छन्। यो कुल संक्रमितको ४७ प्रतिशतभन्दा बढी भएको मन्त्रालयले जनाएको छ।

हाल २५ हजार ४० जना क्वारेन्टाइनमा छन् भने ८ हजार ६ सय ३६ जना आइसोलेसनमा छन्। बुधबार सम्म ३५ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

