काठमाडौं । भारतीय सञ्चार माध्यमले पत्रकारिताबाहेक सबै गर्छन् भन्ने विश्वव्यापी भनाइ पुनः प्रमाणित भएको छ । खबरमा हुनुपर्ने वस्तुनिष्ठता, निष्पक्षता र विश्वसनीयताभन्दा बाहिर गएर हालै भारतको चर्चित टेलिभिजन कम्पनी जी न्युजको ‘जी विहार–झारखण्ड च्यानल’ मा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतबारे लगातार गलत रिर्पोटिङ प्रसारण हुनुले मिडियाको निर्लज्जता देखाएको छ ।
आधारहीन र तथ्यहीन रिपोर्टिङको आडमा घृणाको व्यापार गर्ने शैलीले त्यहाँका नागरिकका लागि भ्रम फैलाउने काम मात्रै गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।
भारतको जी च्यानलले ‘ओलीकी इस्किया’, ‘अतरंगी मुलाकात और नेपाल हार गए ओली’ जस्ता शीर्षक प्रयोग गरेर समाचार प्रसारण गरेको छ । जुन समाचार प्रसारणले नेपाल अब भारत छाडेर चीनतिर ढल्कियो भन्ने आशयको छ । माया प्रेमको जाल बुनेर बनाइएको सो कथाले पत्रकारिताभन्दा पनि प्रोपोगाण्डा मच्चाउने काम मात्रै गरेको छ ।यो समाचार भारतीय च्यानलले प्रसारण गरेको समाचारको विषयलाई लिएर पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र कमल थापाले आपत्ति जनाएका छन् । श्रेष्ठले ट्वीटरमा लेखेका छन्, ‘भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रधानमन्त्रीका बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो । हद भयो । बकवास बन्द गर । हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति हामी एक ढिक्का छौं । विदेशीको फुटाउ र स्वार्थ पूरा गर्ने नीति सफल हुन दिनेछैनौं । यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो ।’
त्यस्तै, राप्रपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री कमल थापाले ट्वीट गर्दै प्रधानमन्त्री ओलीसँग विभिन्न विषयमा गम्भीर मतान्तर भए पनि भारतीय मिडियाको उक्त विmयाकलापको भत्र्सना गरेका छन् । भारतीय मिडियाले प्रकाशन र प्रसारण गर्ने यस्तो क्रियाकलापले नेपाल र भारतबीचको सम्बन्ध राम्रो हुन नसक्ने समेत बताएका छन् ।
भित्री कोठामा बसेर एकोहोरो मनगढन्ते कुरा बनाएर समाचारका रूपमा प्रस्तुत गर्ने र टिआरपी बढाउने काम मात्रै भारतीय मिडियाले गरिरहेका छन् । नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमिलाई समेटेर आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेसँगै तिलमिलाएको भारतीय मिडियाले पछिल्लो समय नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अनर्गल प्रचार र फेक समाचार बनाउने कामले निरन्तरता पाइरहेको छ ।