काठमाडौँ – ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय राजदूतलाई तत्काल विरोधपत्र दिन माग गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यममा प्रसारित अनर्गल प्रचार गरिएको विषयमा आपत्ति जनाउँदै मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले भारतीय राजदूतलाई तत्काल विरोधपत्र दिन माग गरेका हुन्।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपालले नेपाल र नेपालका प्रधानमन्त्रीले उठाएका राष्ट्रियतासँग सम्बन्धित नक्सा संशोधन र नागरिकतालगायतका साहसिक कदमले सिर्जना गरेको राष्ट्रिय तरङ्गबाट विक्षिप्त भएर भारतीय सञ्चारमाध्यमले पत्रकारिताको सामान्य आचारसंहिता पनि पालना नगरेको देखिएको बताएका छन्।
नेपालका परराष्ट्र मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयले नेपालका लागि भारतीय राजदूतलाई बोलाएर तत्काल विरोधपत्र दिनुपर्ने उनको माग छ।
विज्ञप्तिको पूर्णपाठ –
यद्यपि प्रधानमन्त्री केपी शर्मा अोलीसँग ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अनेक असहमति छन् , तर नेपालका प्रधानमन्त्रीमाथि इन्डियाली सञ्चारजगत्ले जुन निकृष्ट शैलीको प्रदर्शनबाट चरित्रहत्या गर्न खोजेको छ , ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा त्यसको घोर भर्त्सना र निन्दा गर्दछ । यसका साथै नेपालका लागि महामहिम चिनियाँ राजदूतको कूटनीतिक मर्यादामाथि हिलो छ्यापेर पीत र वेश्या शैलीमा नयाँ दिल्लीले गरिरहेको नग्ननृत्यले `हग्नेलाई भन्दा देख्नेलाई लाज ´ भन्ने नेपाली उखान चरितार्थ गर्नु उत्तिकै निन्दनीय रहेको छ ।
केही दिनयता इन्डियाका सञ्चारमाध्यमले नेपाल र नेपालका प्रधानमन्त्रीले उठाएका राष्ट्रियतासँग सम्बन्धित नक्सासंशोधन र नागरिकतालगायतका साहसिक कदमले सिर्जना गरेको राष्ट्रिय तरङ्गबाट विक्षिप्त भएर पत्रकारिताको सामान्य आचारसंहिता पनि पालना नगरेको देखिएको छ , त्यो इन्डिया सरकारकै सहमतिमा भएको हो भन्न बाध्य हुनुपर्छ ।
तसर्थ नेपाल र इन्डियाबीचको सम्बन्धका विविध र वृहत्तर अायामलाई इन्डिया अाफैले सङ्कुचित गर्न चाहेको प्रमाणित भएको सन्दर्भमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नेपालका परराष्ट्र मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयले नेपालका लागि इन्डियाली राजदूतलाई बोलाएर तत्काल विरोधपत्र दिनुपर्छ भन्ने जोडदार माग गर्दछ ।
फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
२०७७-०३-२६