काठमाडौँ – नेपालमा भारतीय निजी न्यूज च्यानलको प्रशारण बन्द भएपछि अपमानजनक ट्वीट गरेका ‘जी न्यूज’का प्रधान सम्पादक सुधीर चौधरीले ट्वीट हटाएका छन्।
आफूले गरेको ट्वीटले नेपालमा रहेका आफ्ना दर्शकलाई चोट पुगेको र भारत भित्रैका दर्शकले पनि आफ्नो विचार सहि नभएको प्रतिक्रिया दिएको भन्दै उनले ट्वीट हटाएका हुन्।
नेपालका प्रधानमन्त्रीलाई लिएर भारतीय मिडियाहरुले अनर्गल प्रचार गरेपछि नेपालमा भारतीय निजी न्यूज च्यानलहरुको प्रशारण रोकिएको छ। यस विषय बारे टिप्पणी गर्दै उनले ट्वीटर मार्फत नेपाल भारतीय मिडियासँग डराएको बताएका थिए।
“नेपालविरुद्ध भारत सरकारले कुनै कारवाही गर्नै परेन, सेना प्रयोग गर्नै परेन भारतीय मिडियासँग नै डरायो, टीभी एंकरसँग नै नेपाल डरायो।”,उनले हिन्दीमा ट्वीट गरेका थिए।
भारतीय च्यानल नेपालमा बन्द भएपछि आवेशमा आएर आफूले अनावश्यक प्रतिक्रिया दिएको उनको भनाई छ।
“मेरो ट्वीटका कारण नेपालस्थित हाम्रा दर्शकलाई चोट पुग्यो । भारतमा पनि धेरैले यो ठीक भएन भनेर मलाई भन्नुभयो । शायद मैले आवेशमा आएर अनावश्यक प्रतिक्रिया दिएँ । यो कसैलाई चोट पुर्याउने नभई अभिव्यक्तिको मञ्च हो । त्यसकारण खेद प्रकट गर्दै उक्त ट्वीटलाई हटाउँदै छु।”,ट्वीट हटाएको बारे जानकारी दिँदै उनले लेखेका छन्।