काठमाडौँ – शुक्रबार एकै दिन काठमाडौँ उपत्यकामा ३ दर्जन भन्दा बढी कोरोना भाइरस संक्रमित फेला परेका छन्। शुक्रबार उपत्यकामा एकै दिन ४२ जना कोरोना संक्रमित फेला परेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँका २८, ललितपुरका १३ र भक्तपुरका एक जनामा कोरोना पुष्टि भएको बताए।
उनका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १५, भक्तपुरका १ र ललितपुरका १३ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका १२ जनामा संक्रमण पुष्टि भएको पनि उनले जानकारी दिए।
शुक्रबार उपत्यकामा ४२ सहित देशभर १ सय १८ जनामा कोरोनाको पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ।
प्रवक्ता गौतमले छिल्लो २४ घण्टामा १ सय २० जना उपचारपछि विभिन्न आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएको पनि बताए। यससँगै नेपालमा निको हुनेको संख्या ८ हजार ११ पुगेको छ।