काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमणदर ह्वात्तै घट्न थालेको छ । केही दिनअगाडीसम्म दैनिक पाँच सयका दरले संक्रमित भेटिदै आएकोमा अहिले भने सो दर निक्कै तिव्र गतिमा घटेको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो समय संक्रमितको संख्या दैनिक एक सय जनाको हाराहारीमा आउने थालेको हो । शनिवारमात्र देशभरबाट ७० जना नयाँ संक्रमित फेला परेका छन् । यद्यपी विगतको तुलनामा शनिवार पिसिआर परीक्षण पनि केवल ३ हजार ६४८ जनाको भएको छ । यसअघि भने करिव साढे चार हजारको परीक्षण हुदै आएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ७१९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ८ हजार ४४२ पुगेको छ । कुल संक्रमित मध्ये निको हुनेको संख्या ५० दशमलव ५ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । अहिले संक्रिय अर्थात कोरोना नै रहिरहेकाको संख्या भने ८ हजार २३९ जना रहेका छन् । उनिहरुको विभिन्न अस्पतालमा बनाइएको आइसोलेसनमा उपचार भईरहेको छ ।
स्वास्थ्य मन्त्रालयकाअनुसार निको भएका मध्ये पनि अधिकाशंलाई औषधि चलाउनु परेको छैन । दीर्घरोगी र अन्य रोग भएका केही व्यक्तिलाई मात्र औषधिहरु नियमित रुपमा खान दिएको र केहीलाई भेन्टिलेटरमा समेत राखिएको बताएको छ । त्यस बाहेक अधिकाशंले बिना औषधि कोरोना जितेको बताएको छ । जसमा ९० वर्षसम्मका वृद्धले जितेको पनि जनाएको छ ।
देशभरीका क्वारेन्टिनमा अझै २४ हजार ९७ जना रहेका छन् । उनिहरु विभिन्न देशबाट नेपाल आएकाहरु हुन् । उनिहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर लक्षण देखिए पिसिआर परीक्षण गरिने भएको छ । सरकारले पछिल्लो समय लक्षण देखिएका, संक्रमण फैलिने आशंका गरिएको क्षेत्रमा मात्रै पिसिआरलाई लक्षित गरेको छ । जसका कारण परीक्षण घटेको बताइएको छ । तर, आरडिटी भने पूर्ण रुपमा बन्द गरेको छ ।
हालसम्म पीसीआर विधिबाट २ लाख ७९ हजार ५९९ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म गरिएको पिसीआर परीक्षणमध्ये औसतमा प्रति सयमा ६ जनामा कोरोना देखिएको छ । आरडिटी भने सरकारले यो अवधिमा ३ लाख १२ हजार ४०२ जनामा गरेको थियो ।

