एजेन्सी – शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई पराजित गर्यो। यससँगै शीर्षस्थानको रियल म्याड्रिडसँगको दुरी १ अंकमा झर्यो।
बार्सिलोनाले भालाडोलिडको घरेलु मैदानमा १-० को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक हाँसिल गर्दा आर्टुरो भिडालको गोल निर्णायक बन्यो। कप्तान लिओनेल मेस्सीले चलाखीपूर्ण ढंगले पेनाल्टी क्षेत्र नजिकबाट दिएको फ्लिक पासलाई भिडालले गोलमा परिणत गराए।
बार्सिलोनाको जीतमा मेस्सीको ‘असिस्ट’ धेरै नै महत्वपूर्ण रह्यो। यससँगै जारी सिजनमा मेस्सीको ‘असिस्ट’ संख्या २० पुगेको छ। मेस्सी एकै सिजनमा २० असिस्ट दिने जाभीपछिका दोस्रो खेलाडी बनेका छन्। एकै सिजनमा बार्सिलोनाको तर्फबाट यी दुई खेलाडी बाहेक अन्य कसैले पनि २० असिस्टको आँकडा छुन सकेका छैनन्।
मेस्सीले जारी सिजनमा २० असिस्टको आँकडा छोएसँगै एक रेकर्ड पनि बनाएका छन्। लालिगाको एकै सिजनमा २० गोल र २० असिस्ट गर्ने पहिलो खेलाडी बनेका छन्। यस भन्दा अगाडी लालिगाको इतिहाँसमा कुनै पनि खेलाडीले एकै सिजनमा २० वा २० भन्दा बढी गोल र असिस्ट गर्न सकेका थिएनन्। यस्तै मेस्सी युरोपको मामलामा भने यो आँकडा छुने दोस्रो व्यक्ति बनेका छन्।